काठमाडौँ । नेपाली अटो व्यवसायीहरुको प्रतिनिधित्व गर्ने एक मात्र संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले छ दिनपछि नयाँ कार्यसमिति पाउँदै छ ।नाडाको यही मंसिर २२ गते हुने ४५औँ साधारणसभाले अटो व्यवसायीहरुको संगठन नाडाको नयाँ नेतृत्वसहित १७ जनाको नयाँ कार्यसमिति निर्वाचित गर्नलागेको हो ।
यसका लागि व्यवसायीहरु चुनावी रस्साकस्सीमा तयारी गरिरहेका छन् । आगामी निर्वाचनमा फोर्स मोटरका ध्रुव थापा र मारुती सुजुकीका करण चौधरीले नाडाको अध्यक्षको लागि प्रतिस्पर्धा गर्ने निश्चितप्रायः भएको छ ।
अध्यक्षका दुवै प्रत्याशीले प्यानल घोषणा गरी चुनावी प्रचारलाई तीव्र पारिरहेका छन् । बिहीबारमात्रै ध्रुव थापाले आफू अध्यक्षसहित १७ कार्यसमिति सदस्यसहितको प्यानल घोषणा गरेका हुन् ।
थापाको प्यानलमा व्यवसायीहरु निराकार श्रेष्ठ, आकाश गोल्छा, दीपक अग्रवाल, सुवासिस थपलिया, मोहन खड्का, प्रदीपमान प्रधान, कपिल सिवाकोटी, सञ्जय खेतान, दिपेन्द्र कुमार मिश्र, अमर ज्योति, प्रकाश सिग्देल, बीएन पाठक, नारायण पौडेल, नवराज भुसाल, सगुन वीरसिंह कंसाकार, यमुना श्रेष्ठले चुनाव लड्ने निश्चित भएको छ ।
थापाको प्यानलमा रहेकामध्ये निराकार हुन्डाईका, फोर्ड मोटर्सका आकाश गोल्छा अर्गनाइजेसनका, अग्रवाल जगदम्बा मोटर्सका, थपलिया पद्माश्री ग्रुपका, प्रधान वर्कशप सामग्री बिक्रेता, सिवाकोटी एसएमएल इसुजुका, खेतान पार्टपुर्जा व्यवसायका, मिश्र स्पेयर पार्टका, ज्योति क्यास्ट्रोल लुब्रिकेन्ट्सका, सिग्देल स्पेयर पार्टका, पाठक रिकन्डिसन संघका अध्यक्ष, पौडेल हेलमेट तथा पार्टसका, भुसाल स्पेयर पार्टसका अटो व्यवसायीहरु हुन् ।
उता मारुती सुजुकीका अधिकृत बिक्रेता करण चौधरीले बुधबार नै प्यानल घोषणा गरेका छन् । उनको प्यानलबाट चौधरी अध्यक्षसहित हिरोका अभिक ज्योति, टाटाका राजनबाबु श्रेष्ठ, यामाहाका मिलनबाबु मल्ल, महिन्द्राका वरदान बस्नेतले चुनाव लड्ने निश्चित भएको छ । यसबाहेक नाडाकै वर्तमान कार्यसमिति सदस्यको पनि चौधरीले साथ पाएका छन् । हाल कार्यसमिति सदस्य तथा महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेतीसहित व्यवसायीहरु पंकज अग्रवाल, प्रकाश कपुरी, विक्रम सिंघानिया, निशान ढकाल, निलमणि पाठक, राजेन्द्र अग्रवाल, गोपाल भट्टराई, वर्ण न्यौपाने, गंगाराज भट्टराई र देवराज भण्डारीले चौधरीको प्यानल रोजेका छन् ।
बाँडिए ठूला घराना
यसपटकको अटो व्यवसायीको चुनावमा ठूला घराना बाँडिएका छन् । थापालाई हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपको साथ छ । यसबाहेक फोर्ड मोटर्स तथा बजाज मोटरसाइकल बिक्रेता गोल्छा अर्गनाइजेसनबाट पनि थापाले साथ पाएका छन् ।
त्यस्तै टीभीएस मोटर्स, रिकन्डिसन व्यवसायी, पोखराका सबैजसो अटो व्यवसायीको साथ थापाले पाएका छन् ।यता चौधरीले पनि बजाजको समर्थन आफूलाई रहेको दाबी गरिरहेका छन् । यसबाहेक यामाहा, हिरो, होन्डामात्र होइन टाटाको पनि साथ चौधरीलाई छ । आईएमई ग्रुप पनि चौधरीकै प्यानलमा खुलेको छ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका छोरा निशान ढकाल चौधरीतिरै खुलेका हुन् ।
कसका कस्ता एजेन्डा ?
चुनाव हुने पक्का भएसँगै दुवै प्यानलले आआफ्नो एजेन्डा पनि सार्वजनिक गरिसकेका छन् । थापा प्यानलले नेपालमै सवारीसाधन एसेम्बल र उत्पादनमा स्पष्ट खाका बनाउने, अटो क्षेत्रका समस्या पत्ता लगाएर समाधानको पहल गर्न विज्ञ टोली बनाउने, सवारीसाधनलाई अत्यावश्यक सूचीमा राख्न पहल गर्ने, नाडा सचिवालय सुधार गर्ने, आफ्नै भवन निर्माण गर्ने, नाडा अटो शोलाई अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि र घरेलु बजार प्रवद्र्धनमा केन्द्रित गर्ने गरी प्रदेशस्तरमा पनि शो आयोजना गर्ने, यसको प्याटेन्ट नै दर्ता गर्ने, अन्तर्राष्ट्रियस्तरमा समन्वय गर्नेलगायतका एजेन्डा अघि सारेको छ । यसबाहेक विद्युतीय सवारीसाधनको स्पष्ट नीतिको पहल गर्ने, युरो मापदण्ड र सडक सुरक्षाजस्ता विषयलाई पनि थापा समूहले अघि सारेको छ ।
यता करण चौधरी समूहले पनि आफू निर्वाचित भए समग्र अटो क्षेत्रको हित हुने गरी नाडामा निर्णय गर्ने बताएको छ । सकेसम्म सर्वसम्मत कार्यसमिति चयन गर्ने पक्षमा रहेको चौधरी समूह थापा समूहले चुनावमै जाने गरी अघि बढेपछि प्यानल बनाउने निर्णयमा पुगेको थियो । चौधरीले आफ्नो कम्पनी र व्यवसाय घाटामा गए पनि नाडाकै हकहितमा लाग्ने बताएको छ । डिलर, रिटेलर, मोफसलका सबै अटो व्यवसायीको हकहितमा लाग्ने चौधरी समूहले जनाएको छ ।
२१ र २२ गते हुने साधारणसभा र निर्वाचनमा नाडाका झण्डै ३१ सय मतदाता रहेका छन् । उनीहरुले अध्यक्ष तथा १७ जना कार्यसमिति सदस्यलाई चुन्नेछन् । त्यहीँबाट उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चुनिनेछन् । अघिल्लो पटक कृष्ण प्रसाद दुलाल सर्वसम्मत अध्यक्ष चयन भएका थिए । त्यसअघि पनि चुनावबाट चयन हुने गरेका थिए । तर ठूला घरानाले नै चुनावमा वर्चस्व कायम गर्थे । दुलालअघि शम्भु दाहाल प्रतिस्पर्धाबाटै अध्यक्ष बनेका थिए । सन् २०१५ मा अन्जान श्रेष्ठ पनि प्रतिस्पर्धाबाटै अध्यक्ष चयन भएका थिए । यसपटक दुवै समूहले बलियो तयारी गरेकाले कडा चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ ।