काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगु बस्ने २७ वर्षीय विक्रम कार्की र सोही ठाउँ बस्ने २० वर्षीय सुमन कार्की रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए । सोमध्ये बिक्रमलाई काठमाडौंको तीनकुनेबाट र सुमनलाई चाबहिलको चुच्चेपाटीबाट पक्राउ गरिएको उनको भनाइ छ ।
पक्राउ परेकाहरुले दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोग छ । प्रहरी उपरीक्षक महतोका अनुसार पूर्ण बहादुरलाई गत कात्तिक १० गते अज्ञात समूहले नियन्त्रणमा लिई उक्त सहकारीबाट नगद एक लाख ८५ हजार सात सय ८० रुपैयाँ लुटपाट गरी फरार रहेकोमा गौरीशंकर गाउँपालिका–१ जुगुस्थित जंगलमा हातखुट्टा डोरीले तथा मुख खादाले बाँधिएको र निधारमा घाउचोट लागेको अवस्थामा कात्तिक १२ गते उनको शव फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले विक्रमलाई काठमाडौं महानगरपालिका–३२ तीनकुने र सुमनलाई काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए । साथै घटनास्थलबाट लुटिएको मृतकको एक थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये एक लाख ३८ हजार दुई सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।