काठमाडौं । अब्बल चित्रकार समेत रहेका विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा राजधानीमा स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । अरुणिमा एजुकेसन फाउन्डेसनले गोकर्णेश्वर ९ स्थित नवअरुणिमा माविमा गरेको प्रतियोगितामा विद्या सागर स्कुलकी रुस्मा सेन्चुरी पहिलो भइन् ।
सोही विद्यालयकी अनिता डंगोल दोस्रो भइन् भने तेस्रो स्थान पाँच पोखरी मोडल स्कुलकी अम्बिका तामाङले हासिल गरिन् । शान्त्वना पुरस्कार ग्रीनतारा एकेडेमीकी एलिसा राईले पाइन् ।
‘कोरोना कहर र मेरो गाउँघर’ शीर्षकको प्रतियोगितामा निर्णायकको भूमिकामा राजन काफ्ले र कुशल हमाल रहेका थिए । प्रतियोगितामा कक्ष छदेखि १० सम्म अध्ययनरत विभिन्न १९ विद्यालयका ५५ जना छात्र छात्रा सहभागी थिए ।
विजयी विद्यार्थीहरूलाई ललितकला प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, अरुणिमा एजुकेसन फाउन्डेसनका कार्यकारी प्रधानध्यापक ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसे, अरुणिमा कलेजका प्रमुख केशव जोशी, नवअरूणिमा विद्याल व्यवस्थापन समितिका अध्यक्ष वसन्त रिजाललगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरे ।
वर्षेनी आयोजना गरिने प्रतियोगता सञ्चालनका लागि अरुणिमा एजुकेसन फाउन्डेसनले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।