काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषिकर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययनका सम्बन्धमा शुक्रबार सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको अध्ययन प्रतिवेदनअनुसार उक्त प्रदेशमा कृषिकर्जा बढेको हो ।
प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४७ दशमलव ६३ प्रतिशतले वृद्धि भई १२ अर्ब आठ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा ३४ दशमलव ७१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा कुल कृषिकर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा २९ दशमलव ५४ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम सनपाटमा शून्य दशमलव शून्य चार प्रतिशत कर्जा प्रवाह भएको छ ।
प्रतिवेदनअनुसार यस अवधिमा कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश नौ दशमलव ६५ प्रतिशत छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कैलाली जिल्लाको अंश ६३ दशमलव ७२ प्रतिशत छ भने सबैभन्दा कम बाजुरा जिल्लाको एक दशमलव ३३ प्रतिशत छ । यसैगरी २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २८ दशमलव छ प्रतिशतले वृद्धि भई सात अर्ब ५३ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस शीर्षकमा एक अर्ब ९५ करोड कर्जा प्रवाह भएको थियो । क्षेत्रगत कृषि कर्जातर्फ भने कैलाली जिल्लामा सबैभन्दा बढी ६३ दशमलव ७२ प्रतिशत रहेको छ भने बाजुरा जिल्लामा सबैभन्दा कम एक दशमलव ३३ प्रतिशत प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जा प्रवाहमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ६३ दशमलव ८६ प्रतिशत र बाजुरा जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव ४८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
क्षेत्रगत औद्योगिक कर्जा २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा २९ दशमलव पाँच प्रतिशतले वृद्धि भई २६ अर्ब ८१ करोड पुगेको छ । प्रतिवेदनअनुसार गत वर्ष यस्तो कर्जा २० दशमलव ८९ प्रतिशतले वृद्धि भएको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २१ दशमलव ४२ प्रतिशत रहेको छ । आव २०७७/०७८ मा कुल औद्योगिक कर्जामध्ये विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी एक सय ३९ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ भने गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा सवैभन्दा कम १४ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, खानीसम्बन्धी उद्योगमा ९२ दशमलव ९५ प्रतिशतले, कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगमा ३५ दशमलव ८४ प्रतिशतले, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ३३ दशमलव ३८ प्रतिशतले तथा निर्माणसम्बन्धी उद्योगमा २७ दशमलव छ प्रतिशतले कर्जा विस्तार भएको छ । कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढी निर्माणसम्बन्धी उद्योगको अंश ३८ दशमलव ६३ प्रतिशत रहेको छ भने सबैभन्दा कम खानीसम्बन्धी उद्योगको अंश शून्य दशमलव ५४ प्रतिशत अंश रहेको छ ।
प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका तीन सय १७, विकास बैंकका ४६, वित्त कम्पनीका छ तथा लघुवित्त वित्तीय संस्थाका चार सय आठ गरी जम्मा सात सय ७७ शाखा सञ्चालनमा रहेका छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी तीन सय ४४ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २६ शाखा सञ्चालनमा छन् ।
प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा २० दशमलव २२ प्रतिशतले वृद्धि भई एक खर्ब नौ अर्ब २४ करोड रुपैयाँ पुुगेको छ । गत वर्ष यस्तो निक्षेप २९ दशमलव ५४ प्रतिशतले वृद्धि भएको थियो । २०७८ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ३६ दशमलव २० प्रतिशतले वृद्धि भई एक खर्ब २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।