काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोडबराबरको प्राथमिक सेयर निष्काशनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।
हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्काशन तथा बिक्री प्रबन्धको रूपमा सानिमा क्यापिटल रहेको छ । सम्झौतापत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरेलगायतका अधिकारी उपस्थित रहेका थिए ।