काठमाडौँ । बैंकिङ क्षेत्रको निक्षेप परिचाललन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप परिचालन एक दशमलव दुई प्रतिशतले वृद्धि भई ४७ खर्ब १८ अर्ब ८३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षकोे सोही अवधिमा भने यस्तो निक्षेप परिचालन चार दशमलव नौ प्र्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा २०७८ असोजमा निक्षेप परिचालन १७ दशमलव दुई प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने सात दशमलव सात प्रतिशतले बढेर ४३ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षकोे सोही अवधिमा यस्तो कर्जा चार प्रतिशतले वृद्धि भएको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ असोजमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३१ दशमलव सात प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा समग्रतामा कर्जाको वृद्धिदर निक्षेप वृद्धिको तुलनामा उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी भने २०७८ असार मसान्तसम्ममा तीन खर्ब ९० अर्ब ४३ करोेड रहेकोमा २०७८ असोज मसान्तसम्ममा तीन ९१ अर्ब १४ करोेड पुगेको रुपैयाँ पुुगेको छ । राष्ट बैंकका अनुसार यो चुक्ता पुँजी भने लघुुवित्त वित्तीय संस्थाहरुको समेत हो । यसैगरी चालू आवको असोज मसान्तमा वाणिज्य बैंकहरुको पुँजी कोष पर्याप्तता अनुपात १३ दशमलव चार प्रतिशत रहेको छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुको पुँजी पर्याप्ततता अनुपात भने क्रमशः १३ दशमलव छ प्रतिशत र १८ दशमलव आठ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुको पुँजी पर्याप्तता अनुपात क्रमशः १४ दशमलव एक, १३ दशमलव दुई र २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार छ सय ८३ रहेकोमा २०७८ असोज मसान्तमा ११ हजार ३९ पुगेको छ । उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या दुई हजार आठ सय ४४ बाट घटेर दुई हजार सात सय ५२ कायम भएको छ ।