काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड घोटाला प्रकरणमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको काठमाडौं उपत्यकाको विभिन्न स्थानमा १४ हजार एक सय ५२ दशमलव ९७ वर्गमिटर क्षेत्रफलको जग्गा भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित तामाङको परिवारका सदस्यहरु र उनी संलग्न कम्पनीहरुको नाउँमा उपत्यकामा विभिन्न स्थानहरुमा ९९ रोपनी जग्गा फेला पारेको हो ।
यसरी फेला पारिएको जग्गामध्ये १२ रोपनी जग्गा तामाङले आफ्ना परिवारका सदस्यहरुको नाउँमा र बाँकी ८७ रोपनी जग्गा आफ्नो नाउँमा रहेको विभिन्न कम्पनीहरुको नाउँमा राखेको खुलेको छ ।
तामाङको मुद्दामा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोजन पत्रमा उल्लेख भएअनुसार तामाङले आफ्ना परिवारका चार जना सदस्यहरुको नाउँमा १२ रोपनी र आफ्नो संलग्नता रहेको विभिन्न कम्पनीहरुको नाउँमा ८७ रोपनी जग्गा राखेको खुल्यो, पत्रमा भनिएको छ ।
पत्रमा उल्लेख भएअनुसार तामाङले आफ्नो परिवारका सदस्यहरुको नाउँमा राखेको कुल १२ रोपनी जग्गामध्ये आफ्नो नाउँमा कीर्तिपुर नगरपालिका कित्ता नम्बर ५७ को ५७.३० वर्गमिटर, छोरी प्रतीक्षा तामाङको नाउँमा कीर्तिपुर नगरपालिकामा नै कित्ता नं. १०६ को ५५८.९५ वर्गमिटर र कि.नं. ९३ को ४१३.६५ वर्गमिटर जग्गा रहेको खुलेको छ ।
यसैगरी अर्की छोरी प्रतिष्ठा तामाङको नाउँमा पनि तामाङले कीर्तिपुर नगरपालिकामा नै कि.नं. १५, ११२, १११ र ९१ को क्रमशः २१०.८, १३६.३२, २२३.८८ र १०१.६ वर्गमिटर जग्गा राखेको भेटिएको छ ।श्रीमती सृजना शाक्य तामाङको नाउँमा पनि तामाङले कीर्तिपुर नगरपालिकामा नै कि.नं. ५९, ९६, ३९, ४९, ९७, ३८ र ४० को क्रमशः २६२.३८, ७७.५६, १४१.१, ३१३.८, २०७.५४, ११७.४ र ३३१ वर्गमिटर जग्गा राखेको भेटिएको छ ।
यसबाहेक बाँकी ८७ रोपनी जग्गा भने तामाङले आफ्नो संलग्नता रहेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड, सिभिल होम्स प्रालि र सिभिल स्टेट प्रालिसहितका कम्पनीहरुको नाउँमा काठमाडौंको सुन्धारा, ललिपुरको ठेँचो, सुनाकोठी, धापाखेल, काठमाडौंको तीनथाना लगायतका क्षेत्रहरुमा घरजग्गा देखिएको छ ।
सिभिल सहकारीमा बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तामाङसहित १२ जनालाई २०७८ असोज १८ गते पक्राउ गरेको थियो । पक्राउलगत्तै तामाङसहितको टोलीमाथि सीआईबीले संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान सुरु गरेको थियो ।
जसअन्र्तगत पटक–पटक म्याद थप गर्दै झण्डै ४० दिन हिरासतमा राखेर सीआईबीले तामाङमाथि अनुसन्धान गरेको थियो । सीआईबीले सरकारी वकिलको कार्यालयमा पठाएको पत्रकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा पाँच अर्ब ६७ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
सीआईबीले मुुलुकी अपराध संहिता २०७४ र संगठित अपराध नियन्त्रण ऐन २०७० अनुसार तामाङविरुद्ध अनुसन्धान गरी सोही ऐनअनुसार सजाय तथा मागदाबी गरेको छ । तामाङ विरुद्ध हालसम्म १५ सय तीनवटा जाहेरी परिसकेका छन् ।