काठमाडौं । कुमारी बैंकले एफवान सफ्टसँगको सहकार्यमा ‘फोनलोन ईएमआई’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार फोनलोन प्रदान गर्दै उद्देश्यअनुरूप उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
बैंकले दिनानुदिन आवश्यक भइरहने खर्च व्यवस्थापनमा मदत पु¥याउने हेतुले गत वर्षदेखि फोनलोन सुविधा सञ्चालनमा ल्याएको थियो । यस छोटो अवधिको फोन लोन कर्जामा थप सुविधा दिनको लागि बैंकले नेपालमै पहिलो पटक एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याइएको हो, बैंकले सोामबार पत्रकार सम्मेलन गरेर भनेको छ । आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै आफ्ना ग्राहकहरूलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन ईएमआई सुविधा सञ्चालनमा ल्याएको होे ।
कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरूले न्यूनतम एक हजारदेखि अधिकतम दुई लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कुनै धितो वा कागजी प्रक्रियाविना नै फोन लोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयस्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्नेछन् । सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ति गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले व्यक्त गरे ।
यसको अतिरिक्त उक्त योजनाअन्तर्गत फोन–पे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवा सुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी सोको ‘बाइ नाउ पे’ लेटर अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । यस प्रविधिले क्यूआर भुक्तनीमा नयाँ आयाम थप्ने तथा विदेशमा जस्तै नेपालमा पनि बीएनपीलए लोकप्रिय हुनसक्ने धारणा एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले व्यक्त गरे । आगामी दिनहरूमा यस फोनलोनलाई अझ विस्तार र विकास गर्दै लगिने कुरा कुमारी बैंकका चिफ डिजिटल बैंकिङका अनिष ताम्राकारले व्यक्त गरे ।