नयाँ दिल्ली । भारतीय सेयरबजारका लगानीकर्ताले दुई दिनमै ५८ खर्ब भारु गुमाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार सोमबारसम्मको दुई दिनको कारोबार अवधिमा लगानीकर्ताहरुले ५८ खर्ब १६ करोड ३७ लाख भारतीय रुपैयाँ गुमाउनुपरेको हो ।
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको कारण लगानीकर्ताहरु आफ्नो सेयर बिक्रीमा लागेको बताइएको छ । सोमबार बीएसई सेन्सेक्स ९४९.३२ अंकले घटेर ५६७४७.१४ विन्दुनजिक आइपुगेको छ । यसअघि सोही सूचक ७६४.८३ प्रतिशतले घटेर ५७६९६.४६ विन्दुमा झरेको थियो । योसँगै ३० वटा कम्पनी रहेको सेयरबजारमा बजार पुँजीकरण घटेर दुई हजार पाँच सय ६७ खर्ब २७ अर्ब ७४ करोड ६६ लाखमा आइपुगेको छ । सेयरबजार ओरालो लाग्नुलाई नयाँ भेरिएन्टले लगानीकर्तामा पारेको चिन्तालाई मानिएको छ ।
भारतमा नयाँ भेरिएन्टका २१ बिरामी देखिएका छन् । विभिन्न राज्यहरुमा नयाँ भेरिएन्ट भेटिएका अफ्रिकी देशबाट आएकाहरुमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको बताइएको छ । ओमिक्रोन धेरै खतरायुक्त नदेखिए पनि यसको संक्रामक क्षमता भने डेल्टा भेरिएन्टभन्दा १० गुणा बढी देखिएको इन्डियन मेडिकल एसोसिएसनले जनाएको छ । सोमबार सबै सेन्सेक्स कम्पनीको सेयर सूचक राताम्य दे्खिएको बताइएको छ ।