काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानमा विशेष ‘अपरेसन’ सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने समूहका सात जनालाई पक्राउ गरेको हो ।
टोलीले रौतहट चन्द्रनिगाहापुर– ९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ को नरकुमार पुडासैनीलाई गत वर्षका माघमा बानेश्वरबाट हराएको प्र ३–०२–०१३प ३६६० नं को २२० सीसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरिएको थियो ।
उनीमाथिको थप अनुसन्धानका क्रममा न्यूरोडबाट जुम्ला सिञ्जा गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरिएको जनाइएको छ । यही मंसिर ८ गते बत्तीसपुतलीबाट हराएको बा प ०२÷०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा प्र–०२–०२५ प १३९१ प्रयोग गरिरहेका बेला बुढा पक्राउ परेका हुन् ।
कीर्तिपुर क्षेत्रबाट काठमाडौँका सन्तोष महर्जनसहित रौतहट घर भई सानोभ¥याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रविकुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढीमाई घर भई कीर्तिपुर बस्ने वर्ष २२ को रञ्जितप्रसाद गुप्तालाई पनि पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ परेका चौधरी पटक–पटक मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए ।
त्यसैगरी कीर्तिपुरबाट पक्राउ परेका रञ्जितप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकललाई ग्यारेजमा सुरक्षित राख्ने, सामान फेरबदल गर्ने गरेको पाइएको छ ।