काठमाडौं । बैंकिङ प्रणालीमा अन्तरबैंक कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सञ्चालनमा रहेका २७ वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुले कुल नौ खर्ब १९ अर्ब ८९ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका हुन् ।
यसअन्तर्गत वाणिज्य बैंकहरुले मात्र सात खर्ब ९७ अर्ब २८ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले एक खर्ब २२ अर्ब ६१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल अन्तरबैंक कारोबार रकम ८१ अर्ब १५ करोड रुपैयाँबराबरको रहेको थियो । सोही आधारमा २०७७ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर शून्य दशमलव ६३ प्रतिशत रहेकोमा २०७८ असोजमा चार दशमलव ८६ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबीचका अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ असोजकोे शून्य दशमलव ११ प्रतिशतको तुलनामा २०७८ असोजमा चार दशमलव ९५ प्रतिशत कायम भएको छ । यसैगरी मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक दर २०७७ असोजमा शून्य दशमलव १७ प्रतिशत रहेकोमा २०७८ असोजमा चार दशमलव ९५ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ असोजमा सात दशमलव ७३ प्रतिशत रहेकोमा २०७८ असोजमा सात दशमलव ५७ प्रतिशत कायम भएको छ । २०७८ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव ४३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा परिमार्जन
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्था परिमार्जन गरेको छ । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरु र सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै विदेशी मुद्राअन्तर्गत अमेरिकी डलर सटहीसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको हो ।
विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायहरुमा कार्यान्वयनमा आउने गरी विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ बमोजिम व्यवस्थामा परिमार्जन गरिएको राष्ट्र जनाएको छ ।
राष्ट्र बैंकले संशोधित परिपत्रअनुसार भनेको छ, ‘नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर दुई सयसम्म मात्र सटही सुविधा उपलब्ध गराउनुपर्नेछ । तर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरुको लागि कोभिड १९ को कारण क्वारेन्टिन खर्चबापत सो व्यहोरा खुल्ने वैदेशिक रोजगार विभागको सिफारिस पत्र समेतको आधारमा थप अधिकतम अमेरिकी डलर १५ सयसम्म सटही सुविधा विद्युतीय कार्डका माध्यमबाट उपलब्ध गराउन यो व्यवस्थाले बाधा पु-याएको मानिनेछैन ।’
१० खर्ब आठ अर्ब रुपैयाँ तरलता प्रवाह
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा १० खर्ब आठ अर्ब १७ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रिपोमार्फत एक खर्ब ८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत आठ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ समेत गरी उक्त परिमाणमा तरलता प्रवाह गरिएको हो ।
समीक्षा अवधिमा निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब रुपैयाँबराबरको तरलता प्रशोचन गरिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब तरलता प्रशोचन गरिएको थियो । चालू आवको तीन महिनामा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी एक खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार समेरिकी डलर ९४ करोड बिक्री गरी एक खर्ब ११ अर्ब ५३ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८४ करोड बिक्री गरी ९९ अर्ब ६४ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।