नयाँ दिल्ली । भारतीय किसानले वर्ष लामो आन्दोलन सकिएको बताएका छन् । उनीहरुले वर्ष दिनयता हप्ताको एक दिन विशाल आन्दोलन गर्दै आएका थिए ।
सरकारले कृषि क्षेत्र पुनर्संरचनाको लागि ल्याएको विवादित कानुन कार्यान्वयन नगर्ने बताएसँगै किसानहरुले आन्दोलन सकिएको बताएका हुन् । उनीहरुले दिल्लीको सीमामा क्याम्प नै बनाई केन्द्र सरकारविरुद्ध आन्दोलन छेड्दै आएका थिए । सो क्रममा अत्यधिक गर्मी, चिसो र कोरोनाबाट दर्जन बढीको मृत्यु समेत भएको थियो ।
अब शनिबारदेखि सबै किसान आआफ्नो घर फर्किने भएका छन् । किसानका अन्य मागमा समेत छलफल गर्न मन्त्रीहरु सहमत भएपछि उनीहरु आन्दोलन छोड्न सहमत भएको बीबीसीले उल्लेख गरेको छ ।
‘हामी जनवरी १५ मा समीक्षा बैठक गर्नेछौँ । यदि सरकारले आफ्नो प्रतिबद्धताको पूर्ण कार्यान्वयन गरेन भने फेरि आन्दोलनमा फर्किनेछौँ’, किसान नेता गुरनाम सिंह चरुनीले स्थानीय मिडियाहरुसँग भनेका छन् । फार्म युनियनहरुले पनि सरकारको तीन बजारमैत्री कानुन ल्याएकोमा विरोध गर्दै आएका थिए । त्यसले आफूहरुलाई हानि पुग्ने किसानहरुले बताउँदै आएका छन् । यता केन्द्र सरकारले भने यसले किसानहरुलाई नै फाइदा पुग्ने भन्दै अडान राखिरहेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर १९ मा सरकारले उक्त कानुन परिमार्जन गर्ने बताएका थिए । नोभेम्बर ३० मा संसदमा यसलाई रद्द गर्ने विधेयक पारित भएको थियो ।
यसलाई किसानको विजयका रुपमा हेरिएको छ । साथै ठूला आन्दोलनले केन्द्र सरकारलाई समेत चुनौती दिन सक्ने रुपमा पनि हेरिएको बीबीसीले उल्लेख गरेको छ । यसका बाबजुद किसानहरु आन्दोलनरत अवस्थामै रहेका थिए । मोदीको घोषणाका बाबजुद उनीहरु आन्दोलन गर्दै आएका थिए । बिहीबार भने सरकारले किसान नेताहरुलाई औपचारिक पत्र नै पठाएर मागमा सहमति जनाएको थियो । आन्दोलनका दौडान मृत्युवरण गरेका किसानका परिवारलाई क्षतिपूर्ति दिन समेत सरकार सहमत भएको बताइएको छ । यसअघि सरकारले आन्दोलनका दौडान कुनै पनि किसानको मृत्यु नभएको जानकारी संसदलाई गराउँदै आएको थियो ।