वासिङटन । अमेरिकामा महंगी उच्च दरमा बढेको छ । यसले कम आय भएका उपभोक्तालाई आर्थिक दबाबमा पारेको छ । अमेरिकामा महंगी दर नोभेम्बरमा ६.८ प्रतिशतले बढेको पछिल्लो तथ्यांकले देखाएको हो । बीबीसीका अनुसार यो दर ४० वर्षयताकै उच्च हो । न्युयोर्कस्थित हार्लेममा सरसफाइको काम गर्ने बीबी नामकी एक जनाले महंगी अचाक्ली भएपछि एउटा खाना मात्रै किन्न बाध्य भएको बताइन् । उनको २७ वर्षे एउटा छोरो पनि छ ।
‘हामीसँगै अन्य कुनै रोजीछाडी छैन’, उनले भनिन्, ‘खान नै हम्मेहम्मे परेको छ ।’ आफू थोरै खाएर छोरालाई धेरै दिइरहेको उनले सुनाइन् । उनी भन्छिन्, ‘एउटी आमाले सन्तानलाई यसै गर्छिन् ।’ मूल्यवृद्धिसँगै खाद्यान्नको बिल धेरै उठ्नथालेको छ भने पेट्रोलकै मूल्य ६.१ प्रतिशतसम्मले वृद्धि भएको छ । यसबाहेक सेकेन्डह्यान्ड कार र घरभाडा पनि धेरै बढेको छ ।
मूल्यवृद्धिदरको अन्तर केही घटेको भने छ । अक्टोबरमा यस्तो दर शून्य दशमलव नौ प्रतिशत रहेकोमा नोभेम्बरमा शून्य दशमलव आठ प्रतिशत रहेको छ । बीबीजस्ता धेरै मानिसले आफ्नो खर्चमा मितव्ययिता अपनाउनुपरिरहेको छ । उनीमात्र होइन, प्याट्रिसिया नामकी अर्की गृहिणीले स्थानीय सुपरमार्केटबाट खरिद गरेको हप्ताको बिल ३० डलर हाराहारीमा छ । तर पहिले यति नहुने गरेको उनी बताउँछिन् । सोही कारण उनले चिकेन र पोर्कको साटो धेरै सागसब्जी नै खरिद गरिन् ।
‘महंगीले मलाई अहिले धेरै नै सताउँछ किनकि म अहिले काम गरिरहेको छैन’, उनले भनिन् । सन् १९८२ जुनयता मूल्यवृद्धिदर द्रुतगतिमा उकालो चढेको छ । तर यसको असरचाहिँ अहिले कम आय भएकाहरुले महशुस गरिरहेका छन् । महंगी बढेसँगै १९ खर्ब डलरको खर्च विधेयक ल्याउनलागेका राष्ट्रपति जो बाइडेनमाथि दबाब परिरहेको छ। केही अर्थशास्त्रीहरुले राष्ट्रपति बाइडेनकै कोभिड महामारीका खर्च कार्यक्रमलाई दोष दिइरहेका छन् ।