फरक मत : राजनीतिशास्त्रको सरल व्याख्याअनुसार राजनीतिक दल वा पार्टी भन्नाले कुनै एक मुलुकको सरकारलाई नियन्त्रणमा लिन वा नियन्त्रणमा लिने वातावरण बनाउन गठन गरिएको नागरिकको एक समूह जनाउँछ । विश्वमा पहिलोपल्ट युरोप र अमेरिकामा उन्नाईसौँ शताब्दीको सुरुतिर राजनीतिक पार्टीको जन्म भएको थियो । तर पार्टीहरूको अवधारणा आउनुअघि प्राचीनकालदेखि राजा–महाराजा तथा सम्राट्हरूले विश्वमा शासन गरिरहेको समयमा राज्यसत्ता सञ्चालनमा प्रचुर मात्रामा राजनीति हुने गरेको पाइन्छ ।
नेपालको इतिहासमा पनि सयौँ वर्ष पहिलेदेखि राजा, राजपरिवार र भाइभारदारबीच राजनीतिक दाउपेच, चलखेल र षड्यन्त्र भइरहेको थियो । तर पहिलोपटक २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा गरिएको आन्दोलनबाट प्रजातन्त्रको बीउ रोपेको हो । त्यसपश्चात् २०४६ सालमा पनि कांग्रेसकै नेतृत्वमा गरिएको आन्दोलनबाट प्रजातन्त्र प्राप्त भएको हो । अहिले उही ऐतहासिक पार्टीमा १४औँ महाधिवेशनबाट पार्टी हाइकमान्डको बनावट निर्धारण हुँदै छ । यो एक सामान्य ज्ञानको कुरा हो कि लोकतन्त्रमा मुलुकको भविष्य जहिले पनि पार्टीहरूको हातमा हुन्छ ।
भनिन्छ– राजनीति भनेकै शक्ति हासिल गर्न गरिने एक सभ्य लडाइँ हो र लोकतन्त्रको एक नैसर्गिक प्रवृत्ति भनेकै पार्टी–पार्टीबीच हुने सभ्य लडाइँ हो । आम निर्वाचनमा जनताको मत लिएर राज्यसत्ता सञ्चालन गर्न यो शक्तिको सभ्य लडाइँमा जित्नैपर्ने हुन्छ । लडाइँमा जाने सेनाको लागि जीवनमरणको सवाल हुने सबैभन्दा महत्वपूर्ण पक्ष नै कमाण्डरको नेतृत्व क्षमता हो । तसर्थ, आउँदो पाँच वर्षको लागि कांग्रेस पार्टीको कमाण्डरको रुपमा कुन नेतालाई सभापति छान्ने भन्ने विषय हरेक महाधिवेशन प्रतिनिधिले जीवनमरणको सवालजस्तै गम्भीर रुपमा लिनैपर्छ ।
विश्वभर गरिएको एक सर्वेक्षणअनुसार गत सयौँ वर्षमा देखा परेका संस्था प्रमुखहरुदेखि लिएर राजनीतिक नेता, राष्ट्र प्रमुख, सरकार प्रमुखसम्मको व्यक्तित्वबारे अध्ययन विश्लेषण गर्दा ९० प्रतिशत नेतृत्व असफल हुने इमानदारिता, निष्पक्षता र नैतिकतामा कमी कमजोर भएको कारणले रहेछ । कांग्रेस पार्टी सभापतिमा जम्मा ४/५ जनाबीच मात्र प्रतिस्पर्धा हुने भएकोले विगतका अनुभवबाट निजहरुमा भएको नैतिकताको स्तर लेखाजोखा गर्ने कार्य धेरै कठिन काम हुनु नपर्ने हो । अब आउने राष्ट्रियस्तरको हरेक आम निर्वाचनमा जनताले पार्टीको विचार, दर्शन, नीति, घोषणापत्र, राजनीतिक विचारधारा/आइडियोलजीलाई भन्दा नेताहरुको इमानदारिता, शासनशैली, नेतृत्वक्षमतालाई बढी जोड दिएर भोट हाल्ने देखिन्छ । यो कुरा आजकल मिडियामा आउने गरेको समाचारहरु र सामाजिक सञ्जाललाई केलाएर हेर्दा अकाट्य रुपमा प्रमाणित हुन्छ ।
बहुदलीय प्रजातन्त्रमा राष्ट्रको भविष्य दलहरूका हातमा हुने भएकाले दलहरू सक्षम नभएसम्म मुलुक उँभो लाग्दैन । तसर्थ, गत ३१ वर्षदेखि मुलुकमा अहम् भूमिका खेलिरहेको कांग्रेस पार्टी सक्षम हुनु नहुनु मुलुकको भविष्यसँग पनि गाँसिएको छ । सिंगापुरका प्रख्यात नेता लि क्वान युले आफ्नो चर्चित पुस्तकमा लेखेका छन्– ‘एसियाको विकास सम्बन्धमा मैले गरेको अनुभवबाट के निष्कर्षमा पुगेँ भने राम्रो सरकारका लागि असल मान्छे चाहिन्छ र पद्धति असल भए पनि कमसल र खराब नेताले जनतालाई क्षति पु-याउँछ ।’ अहिले कांग्रेसमा ४/५ जना सभापतिको उम्मेदवारमध्ये तुलनात्मक रुपमा क्षमतावान्, असल र बढी नैतिकताको स्तर भएको व्यक्ति छान्नैपर्छ । जहिले पनि फुर्तिलो, सक्रिय, गतिशील र अत्यन्त प्रभावकारी भूमिका खेल्नसक्ने व्यक्ति पार्टी सभापति भएमा मात्र पार्टीले राष्ट्रिय मैदानमा हुने सभ्य लडाइँमा बाजी मार्न सक्छ। मुलुक हाँक्न र पार्टी चलाउन नेताको नेतृत्वक्षमता बढी महत्वपूर्ण हुन्छ । विचारधारा र नीति दोस्रो प्राथमिकतामा पर्नुपर्नेमा यसको ठीक उल्टो कुरा गर्ने बुद्धिजीवीहरुबाट कांग्रेस महाधिवेशन प्रतिनिधिहरु सतर्क हुनैपर्छ ।
२० प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि भएको नेपालजस्तो मुलुकमा बेरोजगार समस्या समाधान गरी उच्च आर्थिक वृद्धिदर हासिल गर्दै जाने काम अत्यन्त कठिन काम हो । सामान्य र साधारण क्षमता भएका प्रधानमन्त्री र मन्त्रीहरूले यस्तो कठिन काम गर्न सक्दैनन् । प्रधानमन्त्री र मन्त्री उत्पादन गर्ने थलो पार्टी नै हुन् । यो कठिन कार्यको प्रारम्भिक काम गर्ने जिम्मा महाधिवेशन प्रतिनिधिहरुको काँधमा आएको छ। आग्रह, पूर्वाग्रह, नातावाद, कृपावाद र खासगरी भावुकतालाई पूर्णरुपमा बेवास्ता गरी सभापतिदेखि केन्द्रीय सदस्यसम्मको छनौटमा व्यक्तिविशेषको चरित्र, नेतृत्व क्षमता र व्यक्तित्वमा अर्जुनदृष्टि राखेर शुद्ध पार्टी र राष्ट्र हितलाई ध्यानमा राखेर मतदान गर्न जरुरी छ ।
भनिन्छ– नेतृत्वक्षमताको सार नै कार्यसम्पादनबाट आउने नतिजा हो । नेपालको विकासको गतिभन्दा तेज गतिमा अन्य मुलुक अघि बढिरहेको परिप्रेक्ष्यमा सापेक्षताको सिद्धान्तअनुसार नेपाल सधैँपछि परिरहने निश्चित छ। तेज गतिको विकास अपरिहार्य भएकोले दोहोरो अंकको आर्थिक वृद्धिदर कसरी हासिल गर्ने भन्ने नै कांग्रेस पार्टीको लागि सबैभन्दा महत्वपूर्ण प्रश्न हो । गत १०/१५ वर्षमा कांग्रेस पार्टीलाई जनताले कुन नजरले हेरेको थियो भन्ने कुरा राष्ट्रियस्तरको निर्वाचनको नतिजाहरुबाट प्रष्ट हुन्छ भने मुलुकको आर्थिक मामिलामा पनि नतिजा सन्तोषजनक मान्ने कुनै आधार छैन । संसारको सबभन्दा कम विकसित ३० राष्ट्रमा नेपाल अझै परिरहेको छ ।
अतः राज्यसत्ता सञ्चालनमा सानोतिनो परिवर्तन गरी परम्परागतशैलीमा कामचलाउ गतिमा कार्यसम्पादन गर्ने नेताहरु छान्ने काम महासमिति सदस्यहरुले कुनै हालतमा गर्नु भएन । गहन रुपमा विश्लेषण गरी आफ्नो विवेक प्रयोग गरी गोप्य मतदानको भरपूर लाभ लिएर पार्टीलाई काँचुली फेरेजस्तै परिवर्तन गर्ने आँट महाधिवेशन प्रतिनिधिहरुले गर्नैपर्छ, पार्टी र देशको खातिर ।