काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकका विभिन्न योजना, आयोजना र डिभिजनहरुमा न्यूनतम मापदण्डसमेत पालना नगरी इन्जिनियरहरुको मनलाग्दी सरुवा गर्दा काममा शिथिलता आएको गुनासो बढिरहेको प्रशासनतर्फका कर्मचारीहरु पनि सडकमा सरुवा भएर जान प्रतिस्पर्धा गरिरहेका छन् । सडकको लेखामा सरुवा हुन त धेरै पहिलादेखि नै प्रतिस्पर्धा नै चल्ने गरेका थियो । अहिले भने प्रशासनतर्फका कर्मचारी पनि सडकमा सरुवा भएर जान शक्तिकेन्द्रमा धाउन थालेका छन् ।
सामान्य प्रशासन मन्त्रालयको गलत निर्णयको कारण मदन भण्डारी राजमार्गको योजना कार्यालय सुर्खेतको कार्यालय स्थापना नहुँदै विवाद सुरु भएको छ । उक्त कार्यालयमा एक जना नायब सुब्बाको दरबन्दी छ तर अहिले सामान्यले दुई जना पठाइदिएको छ । एक जना सामान्यबाट भौतिक मन्त्रालय हुँदै सडक विभागबाट गएका छन् भने अर्का एक कर्मचारीले भने सामान्यबाट सिधै योजना कार्यालय सुर्खेतमा सरुवा भएको पत्र बोकेर पुगेका छन् । अहिले उक्त कार्यालयमा दुई कर्मचारीहरुले आफूले हाजिर गर्न पाउनुपर्छ भनेर झगडा गरिरहेका छन् । विवाद भएको कारण दुवैलाई हाजिर नगराइएको सडक विभागका एक अधिकारीले जानकारी दिए ।
सामान्य प्रशासन मन्त्रालयले यही कात्तिक १७ गते नासुत प्रेम प्रसाद रेग्मीलाई सरुवा गरेर भौतिक मन्त्रालय पठाएको थियो । भौतिकले सामान्यबाट आएका रेग्मीलाई यही मंसिर १० गते योजना कार्यालय सुर्खेतमा पठाएको थियो । उनले हाजिर नगर्दै सामान्यले ‘माथि’को आदेशमा नासु प्रकाश चपाईलाई मंसिर १३ गते योजना कार्यालय सुर्खेतमा हाजिर हुन पठायो । अहिले रेग्मीले पहिला आफू सामान्यबाट भौतिक हुँदै प्रक्रिया पूरा गरेर योजना कार्यालय सुर्खेत आएको र पहिला आफू आएको कारण हाजिर गराउनुपर्ने माग गरिरहेका छन् भन् मंसिर १३ गतेको निर्णयमा योजना कार्यालय पुगेका चपाईले आफूलाई सामान्यले सिधै योजना कार्यालयमा पठाएको कारण आफूले तोकेर सरुवा भएको कार्यालयमा हाजिर हुन पाउनुपर्ने जिकिर गरिरहेका छन् । सडक कार्यालयले यो जानकारी सामान्यलाई गराए पनि कुनै निर्णय दिनसकेको छैन । दुवैले सडकमा जानका लागि माथिको ‘फोर्स’ लगाएको कारण सामान्यका कर्मचारीहरु यो बारेमा बोल्न चाहँदैनन् । तर, मदन भण्डारी सडक योजना कार्यालय भने विवाद भएको कारण हाजिर गराउन नसकिने अडानमा छ ।
सुर्खेतमा मदन भण्डारी सडक योजना कार्यालय स्थापना गर्ने निर्णय भए पनि सो कार्यालयका लागि बजेटको एलएमबीआईएस इन्ट्री भइसकेको छैन । कार्यालयले कति कति खर्च गर्ने भन्ने निधो नभए पनि सो क्षेत्रमा पुल र सडकको ठेक्काको काम सुरु भइसकेको छ । कार्यालय स्थापना नहुँदै कर्मचारी कसलाई राख्ने भन्ने विवादले निस्किनुलाई सडक विभागले सामान्यको बदमासीको रुपमा लिएको छ । ‘कुन ठाउँमा प्रशासनका को कर्मचारी छ भन्ने हेक्का नराखी काम गर्नु सामान्यको बदमासी हो’, सडक विभागका एक अधिकारीले भने । रेग्मी र चपाई अघिल्लो हप्ता मात्र हाजिर हुन सुर्खेत पुगेका थिए । रेग्मी जिल्ला समन्वय डोल्पाबाट र चपाई सिँचाइबाट सरुवा भएर सुर्खेत गएका हुन् ।