काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) खाद्य सुरक्षा बैंक र राष्ट्रिय भण्डारमा नेपालको तर्फबाट गर्नुपर्ने योगदान बढाइने नीति नेपाल सरकारले लिएको छ । सरकारको सोही नीतिअनुरुप सार्क खाद्य सुरक्षा बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा मौज्दात व्यवस्था गर्न धान तथा चामल समेत खरिद गर्ने गरेको छ ।
सार्क खाद्य सुरक्षा बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा मौज्दात व्यवस्था गर्न २७ हजार सात सय ९१ दशमलव एक सय दुई मेट्रिक टन धान र एक हजार सात सय ६५ मेट्रिक टन चामल खरिद गरिएको छ । आर्थिक वर्ष ०७७/०७८ मा सो परिमाणमा धान र चामल खरिद गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सार्क खाद्य सुरक्षा बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा मौज्दात व्यवस्था गर्नकै लागि पुनः २७ हजार तीन सय मेट्रिक टन खाद्यान्न खरिद गरिएको छ । सो परिमाणको धान पनि गत आर्थिक वर्ष नै खरिद गरिएको हो ।
यस्तै मुलुकभित्र आपूर्तिसम्बन्धी सार्वजनिक संस्थानको भण्डार क्षमता बढाई खाद्यवस्तुको सहज उपलब्धता र मूल्य नियन्त्रण गर्ने समेत सरकारी नीति रहेको छ । सरकारको सोही नीतिअनुरुप सरकारले खाद्यान्न खरिद गर्ने तथा बिक्री समेत गर्दै आएको पाइन्छ । गत आर्थिक वर्षमा सरकारले संघ तथा सबै प्रदेशमा गरी तीन लाख १० हजार मेट्रिक टन क्षमताको भण्डारण गृह निर्माण तथा व्यावसायिक बिक्री कक्ष स्थापना गरिने नीति लिएको थियो भने सबै स्थानीय तहमा खाद्य भण्डार स्थापना गर्न प्रोत्साहित गरिने र विकट पहाडी तथा दुर्गम जिल्लामा खाद्यान्न र आयोडिनयुक्त नुन ढुवानी अनुदानलाई निरन्तरता दिइने बताएको थियो । सरकारले आफ्नो नीतिअनुसार शतप्रतिशत काम गर्न नसके पनि आंशिक रुपमा भने काम भएको मन्त्रालयको भनाइ छ ।
गत आर्थिक वर्षमा सरकारले हजारौँ टन खाद्यान्न तथा नुन दुर्गमका नागरिकहरुको लागि भन्दै ढुवानी गरी उपलब्ध गराएको थियो । तोकिएको २३ दुर्गम जिल्लाहरुमा सरकारले गत आर्थिक वर्षमा १६ हजार छ सय ५७ मेट्रिक टन खाद्यान्न ढुवानी गरेको थियो । १७ दुर्गम जिल्लाहरुको ५३ स्थानमा भने फागुन मसान्तसम्म ९३ हजार नौ सय ८४ क्विन्टल नुन ढुवानी गरेको थियो । जसले गर्दा दुर्गम भेगका बासिन्दाहरु आयोडिनयुक्त नुनबाट वञ्चित हुनुपरेको थिएन अर्थात् नुनको अभाव खेप्नुपरेको थिएन ।
यस्तै सरकारले गत आर्थिक वर्षमा सुगमस्थल अर्थात् काठमाडौं उपत्यकासहित विभिन्न सहरमा समेत सहुलियत दरमा खाद्य सामग्रीहरु उपलब्ध गराएको थियो । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपभोक्तालाई दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तुहरु सरल, सहज र सहुलियत मूल्यमा उपलब्ध गराउन विभिन्न ३१ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको थियो । जुन पसलमा दैनिक भान्छालाई आवश्यक पर्ने सामग्री चामल, तेल, नुनका साथै विभिन्न प्रकारको गेडागुडी, चाडपर्वको समयमा मासुजन्य पदार्थ र ग्यासको समेत बिक्री वितरण गरेको थियो । सहुलियत पसल नामकरण गरिएको सो सामग्रीहरु पाउने स्थानबाट काठमाडौंबासीले राहत प्रदान गरेको थियो ।