काठमाडौं । विवेकशील साझा पार्टीले पुँजी बजारबारे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भएको बताएको छ । पार्टी प्रवक्ता सरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गरी अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै एक कार्यक्रममा ‘धितोपत्र बोर्ड : साम्राज्यवादको विकसित रूप’ भन्ने अभिव्यक्ति दिएका थिए । विवेकशील साझाले विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालय समेतको नेतृत्व गरेको पार्टीका अध्यक्षले यस किसिमको अभिव्यक्ति दिनु पूर्णतः गैरजिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै आपत्ति जनाएको छ । ‘पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक–पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ । आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी सेयर बजारलाई जुवाघर हो भनेका छन्’, विज्ञप्तिमा उल्लेख छ ।
पुँजी बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्नेमा विवेकशील साझाले जोड दिएको छ । बजार दुर्घटनामा प-यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्ने र अर्थतन्त्र दुष्चक्रमा फस्न जाने प्रवक्ता पाठकले उल्लेख गरेका छन् । साथै विवेकशील साझा पार्टीले माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो भनाइ तत्काल सच्याउन र आगामी दिनहरुमा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह समेत गरेको छ । साथै पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत काम कारबाही अलपत्र परेको प्रवक्ता पाठकले बताएका छन् । धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्नका लागि पनि विवेकशील साझा पार्टीले सरकारसँग माग गरेको छ ।