काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे गोंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानीट्यांकी प्रदान गरेको छ । वडा कार्यालयमा आयोजित एक भव्यकार्यक्रमका बीच गोंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानीट्यांकीहरू टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरू, सामाजिक अभियान्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो । यस्तै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष अधिकारीले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै वित्तीय सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्र्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चीप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।