काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले यही मंसिर २४ गते नयाँ नेतृत्व चयन गर्दै होटल एलफ्ट ठमेल काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाको सञ्चालन सचिव ईन्द्रप्रसाद शर्माले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष चन्द्र टण्डनले गरेका थिए । त्यसैगरी पूर्वअध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरू तथा अन्य आगन्तुक अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन सबैले सामूहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफू र आफ्नो कार्यसमितिलाई पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुनेगरी नयाँ नेर्तत्व चयन गरिएको बताए ।
संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकारात्मक हुने रेमिट्यान्स गत आर्थिक वर्षमा वृद्धि भएको तर यस आर्थिक वर्षमा भने सुरुदेखि नै रेमिट्यान्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरे । संघका कोषाध्यक्ष सञ्जय सिग्देलले संघको वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए । सभाले नयाँ नेतृत्वमा चन्द्र टण्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि) लाई अध्यक्षमा चयन गरेको छ ।
अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट इन्टरनेसनल प्रालि), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रालि) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष (आई–पे रेमिट प्रालि) तथा सचिवमा दिपेन्द्र खनाल (इजीलिंक रेमिट्यान्स प्रालि) चयन भएका छन् । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास–वे मनी ट्रान्सफर प्रालि), दिवाकर पौडेल (जीएमई रेमिट प्रालि), सञ्जिव पाठक (एटीटी रेमिट प्रालि), चयन भएका छन् । संघको विधानतः अध्यक्षबाट मनोनित हुने दुई जना सदस्यहरूमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा (प्रभु मनी ट्रान्सफर प्रालि) मनोनित भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगकोरूपमा विकास गर्दै लैजाने र सम्पूर्ण रेमिट्यान्स कम्पनीहरूको संस्थागतहितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष टण्डनले आईएमई र आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालको भूमिकालाई स्मरण गर्दे उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यवसायको क्षेत्र बनेको उल्लेख गरे ।
त्यस्तै प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायत यस क्षेत्रलाई योगदान पु -याउने सम्पूर्ण अग्रजहरूको भूमिकालाई विशेष स्मरण गर्दै उनीहरूको योगदानको उच्चक दर गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन आफू लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे । संघको १६ औ वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्वपदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो ।