काठमाडौं । ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबारमा २५ सय रुपैयाँ वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी दिएको छ ।
एनएमबी बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबी बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो । ‘एनएमबीले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ । ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्दछन् ।
हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनएमबी बैंकले नेपालको मात्र होइन एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । यसभन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखा, एक सय ३८ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।