काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा खोलिएको निक्षेप खाताको संख्या झण्डै चार करोड पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाबाहेक सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६२ वटा संस्थाहरुमा कुल तीन करोड ९४ लाख १३ हजार पाँच सय ५५ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेको देखिएको हो ।
यस अवधिमा लघुवित्त संस्थाबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने छ हजार एक सय एक पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको चार हजार आठ सय २२, विकास बैंकहरुको एक हजार ३६ र फाइनान्स कम्पनीहरुको दुई सय ४३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको कुल खाता संख्यामध्ये अझै पनि केही मात्रा निष्क्रिय खाताहरु रहेका छन् ।
सोमध्ये सक्रिय खाताहरुबाट मात्र चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ४८ खर्ब ३४ अर्ब २१ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । सोमध्ये वाणिज्य बैंकहरुमा मात्र कुल तीन करोड ४२ लाख ६७ हजार चार सय ६४ वटा बचत खाता रहेकोमा ती खाताबाट कुल ४२ खर्ब ७१ अर्ब १७ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन भएको छ ।
विकास बैंकहरुले भने चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ४६ लाख २० हजार ३३ वटा निक्षेप खातामार्फत चार खर्ब ७२ अर्ब ४३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसैगरी फाइनान्स कम्पनीहरुमा पनि कुल पाँच लाख ४४ हजार ५८ वटा निक्षेप खाता रहेकोमा निक्षेप संकलन रकम भने ९० अर्ब ६० करोड ८० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको रहेको कुल कर्जा खाता संख्या भने १७ लाख ६४ हजार चार सय ५८ रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा १४ लाख १६ हजार दुई सय ५७, विकास बैंकहरुमा तीन लाख ११ हजार ८९ र फाइनान्स कम्पनीहरुमा ३७ हजार एक सय १२ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका छन् ।

यी खाताहरुबाट वाणिज्य बैंकहरुले मात्र ३९ खर्ब ९२ अर्ब ८५ करोड ६० लाख, विकास बैंकहरुले चार खर्ब २२ अर्ब २५ करोड ९० लाख र फाइनान्सहरुले ७६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ समेत गरी कुल ४४ खर्ब ९२ अर्ब पाँच करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैैंकले जनाएको छ ।