विराटनगर । धेरै लामो समयदेखि प्रदेश १ को राजधानी विराटनगरमा अवैध जुवाजन्य फट्का खेल फेरि मौलाएको छ । भारतमा सुरु हुने प्रिमियम लिगको नाममा विराटनगरबाट मात्रै दैनिक करोडौँको खेल हुनेगरेको बताउन थालिएको छ । यसभन्दा अगाडि भारतमा आईपीएल सुरु भएका बखत सक्रिय भएको मोरङ प्रहरीले पनि केही सट्टेबाज र केही बुकीहरूलाई पक्राउ गरी कारबाही चलाएपछि केही शान्त बनेको विराटनगरमा पछिल्लो समय फेरि फड्का खेलले विशेष प्राथमिकता पाउन थालेको छ ।
स्रोतका अनुसार अवैध जुवा जन्य खेल फाट्का नै मात्र नभई सट्टेबाजको काम गर्ने व्यक्ति पनि हुने गर्दछन् । लामो समयदेखि जुवाजन्य अवैध फाट्का (सट्टेबाज) को धन्दा चलाउँदै आएका केही विराटनगरका व्यापारी युवाहरूले इन्डियन प्रिमियम लिगको क्रिकेटमा करोडौँको कारोबार गर्ने गरेको बताउन थालिएको छ । विराटनगरमा रहेका उद्योगी तथा व्यापारी समूहका युवा समूहमा निकै लोकप्रिय बन्न पुगेको फट्काको सौदामा यसभन्दा अगाडिका दिनमा दैनिक हुने खेलका आधारमा सट्टेबाजहरूले एक करोडभन्दा माथिको कारोबार गर्ने गरेको दाबी गर्न थालिएको छ । प्रिमियम लिग सुरु भएसँगै सट्टेबाजहरूले दिनभरि क्रिकेटमा हुने खेलका आधारमा स्थानीय खेलाडी व्यापारीसँग मोलतोल गर्ने र पैसा उठाउने कामलाई तीव्रता दिने फट्काका पारखी र सट्टेबाज खेलाडीको दाबी रहेको छ ।
केही वर्षअगाडि मोरङ प्रहरी प्रमुखमा बहाल भएको समयमा तत्कालीन प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले फट्काका नामुद खेलाडीलाई उनले प्रयोग गर्ने उपकरणसहित पक्राउ गरेर मुद्दा चलाएपछि केही मत्थर भएको थियो । अब फेरि प्रिमिएम लिग सुरु हुँदा प्रहरीबाट हुने गतिविधिका आधारमा मात्र फड्काको खेलले निरन्तरता पाउने हो वा होइन भन्ने कुराको यकिन हुने अड्कलबाजी सट्टेबाजहरूको छ ।
यस्तै बुकीको रूपमा करोडौँको दाउ चलाउँदै फाट्कालाई निरन्तरता दिएपछि त्यसको असर विराटनगरका उद्योगी तथा व्यापारी समुदायका युवामा पर्ने हुँदा यहाँका उद्योगी तथा व्यवसायी समूह चिन्तित बनेका छन् । स्थानीय उद्योगी तथा व्यवसायीकै व्यापक विरोध सुरु भएपछि मात्र प्रहरीले पनि आफ्नो सक्रियता बढाउने गरेको आरोप प्रहरीमाथि लाग्ने गरेको छ । अब यस पटक खेल सुरु हुनुपूर्व नै मोरङ प्रहरीले आफ्नो सक्रियता देखाएर केही क्रिकेटका बुकी र सट्टेबाजलाई पक्राउ गरी कारबाही चलाउनपर्ने यहाँका व्यवसायीको माग छ ।
नेपाल र भारतको सीमाना अत्यन्त नजिक भएका कारण अवैध जुवाजन्य फाट्का चलाउन भारतसम्म सञ्जाल विस्तार भएको बताइन्छ । नेपालबाट बुकीको काम गर्नेहरूले भारतको बिकानेर र जयपुरबाट दैनिक फट्काको भाउ बुझ्ने काम गर्नेगरेको दाबी स्रोतले गरेको छ । त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरूले फाट्काको दाउमा सट्टा लिने गरेको पाइएको छ । खेलाडीहरूले विराटनगरका विभिन्न ठाउँमा बसेर बुकीको काम गर्दै जुवा र फाट्का चलाउने काममा यहाँका नाम कहलिएका व्यक्ति समेत सक्रिय हुनेगरेको दाबी उद्योगी तथा व्यवसायीको छ ।
उता प्रहरी स्रोतका अनुसार अवैध हुने फाट्कामा संलग्नको पहिचान गर्न समस्या भएपछि यसको धन्दामा वृद्धि हुँदै गएको हो । तत्काल प्रमाण फेला पार्न नसकिने र फाट्का चलाउनेमध्ये अधिकांश व्यापारी समुदायका युवाहरू नै सक्रिय रहेको कुरा बताइएको छ । निक्कै व्यवस्थित सूचना प्रणाली अपनाएर बुकी सञ्चालन गर्नेगरेका कारण प्रहरीले पक्राउ गरेकालाई समेत मौजुदा जुवा कानुनअनुसार मात्र कारबाही चलाउने भएकोले प्रहरीको कारबाहीलाई बुकी र सट्टेबाजले खासै वास्ता नगर्ने देखिएकाले कडा कानुनको आवश्यकता रहेको प्रहरीस्रोतले बताएको छ ।