काठमाडौं । नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन् विद्युत् खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउनेछ ।
नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा पाँच सय मेगावाट विद्युत् खेर गएको थियो । यसबाट नेपालले पाँच अर्ब रूपैयाँ नोक्सान व्यहोरेको छ । पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत् खेर गइरहेको हो । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत् आउँदो वर्षबाटै खरिद गर्ने बताए ।
‘नेपालमा उत्पादन भएको विद्युत् खपत नभएर खेर गइरहेको अवस्था छ,’ उनले भने, ‘त्यो विद्युत् हामी खरिद गर्न सक्छौँ ।’ उनले नेपालबाट विद्युत् आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए । उनले जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाए । मार्चमा नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउने उनको भनाई थियो । बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग सिधै विद्युत् खरिद सम्झौता (पीपीए) गराउने गृहकार्य सुरु गर्ने पनि उनले बताए ।
भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत् व्यापारको ढोका खुलेको छ । यो कार्यविधिले अन्तरदेशीय विद्युत् व्यापारमा नियमन र कानुनी संयन्त्रसम्बन्धी द्विविधाको अन्त्य गरेको छ । नेपालको बिजुलीको सभाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत् व्यापारमा आशावादी भएको छ । बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ ।
अबको चार वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ । नेपालमा उत्पादन हुने विद्युत् बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ । भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युत्मा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे । उनले नेपालका निजी क्षेत्रसँग सिधै पीपीए गरेर विद्युत् खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे । परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत् उत्पादन र विद्युत् खपतको अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए ।
ढाकामा भएको भेटमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे एवं राष्ट्रिय परिषद् सदस्यहरू लक्ष्मीप्रसाद सुवेदी, भीमप्रसाद घिमिरे, द्विराज शर्मा र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलको उपस्थिति थियो । यसैगरी नेपाली राजदूतावास ढाकाका कार्यबाहक राजदूत कुमार राई र परिसंघका महानिर्देशक यादवप्रसाद पौडेल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।