अमेरिका । फेसबुकको मातृकम्पनी मेटाले भर्चअल प्लेटफर्ममा बिहीबारदेखि अमेरिकामा होराइजन वल्र्ड सार्वजनिक गरेको छ । भविष्यमा मेटाभर्स बनाउने उद्देश्यसाथ कम्पनीले कदम चालेको हो ।
होराइजन वल्र्ड पूर्ण महशुस गरिने मेटाभर्सभन्दा निकै परको हो । मेटाभर्स भविष्यको त्यस्तो इन्टरनेट अनुभव हो जहाँ भर्चुअल रियालिटी हेडसेटहरुसँग साथीसँग च्याट गर्दा प्रत्यक्ष अनुभूति दिन्छ । तर अहिले नै होराइजन वल्र्डमा अमेरिका र क्यानडाका हेडसेट लगाउने प्रयोगकर्ताले साथी र अन्यसँग यस्तो अनुभव लिन सक्छन्, खेल खेल्न सक्छन् र आफ्नै भर्चुअल संसार बनाउन सक्छन् । यसका लागि उनीहरु १८ वर्षका र आवश्यक उपकरणयुक्त हुनुपर्नेछ । गत वर्ष परीक्षण गरेयता अहिले सीमित संख्याका प्रयोगकर्ताका लागि यो उपलब्ध भएको हो ।
फेसबुकले आफ्नो मातृकम्पनीको नाम अक्टोबरमा मेटा बनाएको थियो । काण्डैकाण्डमा मुछिरहनुपरेको कम्पनीले नाम नै परिवर्तन गरेको हो । ‘हामी होराइजन वल्र्ड सुरक्षित र सम्मानित वातावरणयुक्त होस् भन्ने चाहन्छौँ’, मेटाले यसको सार्वजनिक गर्दै भनेको छ, ‘जहाँ हरेक व्यक्तिले हाम्रो भीआर नीति र आचारसंहिता पालना गर्नैपर्नेछ ।’