बेइजिङ, माघ २०
चीनले पछिल्लो समय फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै २२ अर्ब अमेरिकी डलर अर्थतन्त्रमा प्रवाह गर्ने भएको छ । बीबीसीका अनुसार सोमबार उक्त रकम बजारमा पठाउन लागेको हो । चीनको केन्द्रीय बैंकका अनुसार यसले बजारमा पैसाको अभाव हुन दिनेछैन । त्यस्तै मुद्रा बजारलाई समेत अस्थिर हुनबाट जोगाउने अपेक्षा गरिएको छ । आइतबारसम्म उक्त भाइरसका कारण चीनमा ३ सय ५ जनाको ज्यान गइसकेको छ भने १४ हजार मानिस संक्रमित भएका छन् । मृतकमध्ये एक जनाको मृत्यु चीनबाहिर भएको हो ।
चिनियाँ अर्थतन्त्र भाइरस फैलिनुअघि नै सुस्ताइरहेको थियो । वित्तीय नियामकहरुले भाइरसको असर अर्थतन्त्रमा पनि पर्न सक्ने अनुमान गरेका छन् । यद्यपि छोटो समयका लागि यसको असर पर्न सक्नेछ । तर विश्लेषकहरुका अनुसार अहिले भाइरसकै कारण चीनका मुख्य सहरहरु बन्दप्रायः अवस्थामा छन् । आर्थिक गतिविधि हुने सहरहरु बन्द हुँदा त्यसको असर अर्थतन्त्रमा पर्ने देखिएको छ । नयाँ वर्षको समयमा चीनको यात्रा र पर्यटन क्षेत्रलाई भाइरस संक्रमणले असर गरेको छ । सहरमा सिनेमाहरु बन्द छन् भने कतिपय कम्पनीहरुले उत्पादन समेत बन्द गरेका छन् । फक्सकोन, टोयोटा, स्टारबक्स, म्याकडोनाल्ड, फक्सवागन जस्ता बहुदेशीय कम्पनीहरुले व्यावसायिक क्रियाकलाप रद्द गरेका छन् ।
गत वर्ष चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो । जुन तीन दशकयताकै थोरै हो । विशेषतः अमेरिकासँगको व्यापारयुद्धका कारण आर्थिक वृद्धिदर सुस्त भएको थियो । हाल अमेरिकासँग चीनले व्यापारयुद्ध रोक्ने गरी पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेको छ । सोलगत्तै कोरोना भाइरसको संक्रमण देखापरेको हो । सोमबार चिनियाँ केन्द्रीय बैंकले कुल १२ खर्ब युआन वित्तीय प्रणालीमा राख्नेछ । बैंकले अन्य कदमहरु पनि चालेको छ ।
भाइरस संकट गहिरिँदैं गर्दा केन्द्रीय बैंकले बैंकहरुलाई ३ खर्ब युआन उपलब्ध गराएको छ । उक्त रकम भाइरसका कारण प्रभावित कम्पनीलाई सापटीका लागि हो । भाइरसविरुद्ध आयात हुने सामग्रीमा समेत करछुट दिइएको छ । यसमा कतिपय अमेरिकी वस्तु समेत रहेका छन् । चिनियाँ बजार नयाँ वर्षको विदासँगै सोमबारदेखि पुनः खुल्दै छ । जनवरी २३ यता देशको सेयर, मुद्रा, बन्ड बजारहरु बन्द रहेका छन् । गत शुक्रबार नै खुल्ने भनिए पनि विदा समय थप गरिएको थियो ।