टोक्यो । सवारीसाधन निर्माता जापानी कम्पनी टोयोटाले जापानमा कार उत्पादन बन्दको समय लम्ब्याउने भएको छ । बीबीसीका अनुसार जापानका केही कारखानामा अझै कार उत्पादन नहुने भएको हो ।
विश्वकै ठूलो कार निर्माता कम्पनीले कोरोनाका कारण आफ्ना दक्षिणपूर्वी एसियाका उपकरण कारखानामा अवरोधजन्य समस्या आएको जनाएको छ । ल्यान्डक्रुजर र लेक्ससका उत्पादन ढिलो गरी सुरु हुने भएको हो । कम्पनीका अनुसार पछिल्लो समय रोक्दा कुल १४ हजार कार उत्पादन हुनेछैनन् । दक्षिणपूर्वी एसियामा पुनः कोरोना महामारी फैलिएकाले आपूर्ति दर कम रहेकाले यसो गर्नुपरेको टोयोटाले बीबीसीलाई पत्रमार्फत जानकारी गराएको हो । यद्यपि उसले वार्षिक विश्व उत्पादन लक्ष्यअनुसार नै कम्पनीले कार उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ ।
गत अगस्टमा कम्पनीले विश्व उत्पादन कम्प्युटर चिप अभावका कारण कटौती गरेको थियो । टोयोटाका प्रतिस्पर्धी कम्पनीहरु जनरल मोटर्स, फोर्ड, निसान, डायम्लर, बीएमडब्लु र रेनोले पनि उत्पादन कटौती गरेका थिए । महामारीले उत्पादनमा असर गरेको त थियो नै, चिप अभावले झन् समस्यामा पारेको थियो । त्यसबाहेक आफ्नो कारखानामा भएको आगलागीले पनि टोयोटालाई समस्यामा पारेको थियो । त्यसमाथि जापानको अर्थतन्त्रमा समेत विश्व आपूर्ति शृंखलामा समस्या पर्दा कम्पनीलाई थप दबाब परेको थियो । दोहोरो अंकको दरमा निर्यात गर्दै आएको जापानले अक्टोबरमा केवल ९.४ प्रतिशत मात्रै निर्यात गरेको थियो । कार शिपमेन्टमा समेत ३७ प्रतिशतले कमी आएको बताइएको छ ।