काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरूका लागि बोनस सेयरसहित १२ दशमलव सात प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा मंगलबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव सात प्रतिशतले हुनआउने एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार दुई सय ७० रुपैयाँ ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने एक अर्ब ४६ करोड ५४ लाख ९६ हजार चार सय ९५ रुपैया ७६ पैसा बोनस सेयर र दुई दशमलव सात प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार सात सय ७४ रुपैयाँ ६२ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको छ ।
सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायतका कार्यका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
साधारणसभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंकभित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए । ‘कोरोनाको कहरबाट संक्रमित र आतङ्कित जनशक्ति र थलिएका उद्योग/व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक/वित्तीय संस्थाहरूको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौँ । पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्धि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरू अनुकूल रहेमा लाभांश दरलाई २० प्रतिशत पु-याउने लक्ष्य लिएका छौँ,’ अध्यक्ष शाहले भने, ‘वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।
शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरूमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रूपमा मेगालाई स्थापित गर्दै लगिने बताए । यसैगरी, काठमाडौँको विशालनगरमा आगामी तीन वर्षभित्र सुविधासम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए ।
अध्यक्ष शाहले मेगा बैंकले गरेको व्यापार प्रवर्द्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर राष्ट्रिय ढुकुटीलाई समृद्ध बनाउँदै आएको स्मरण गरे । जसअन्तर्गत यस आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब एक करोड १७ लाख २५ हजार पाँच सय ७३ रुपैयाँ राजस्व दाखिला गरेको उनले बताए । उनका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१ प्रतिशत बढी राजस्व दाखिला गरेको छ ।
आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष एक करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा उपलब्ध गराएको थियो भने यस वर्ष संघीय/प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरूको आकस्मिक कक्ष तथा बालकक्षको सुधार/उपचारार्थ खर्च गर्ने नीति लिएको छ । शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पु-याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा एकदेखि १२ सम्म अध्ययनरत तीन सय ९० जना छात्राहरूलाई वार्षिक रूपमा ४३ लाख रकमबराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । यो छात्रवृत्तिले शाखा सञ्चालित वडा/पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशीला बनेको थियो ।
सभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरू खडा गर्दै गन्तव्यको उचाइतर्फ अग्रसर भएको बताइन् । ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग÷व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरूको खोजी गर्दै व्यापार प्रवर्द्धनलाई त्यतातर्फ मोडेका छौँ । जसका कारण मेगा बैंकको वित्तीय परिसचूक सन्तोषजनक रहेको छ ।’– सीईओ खुञ्जेलीले भनिन् ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप दुई अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई एक खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुद कर्जा आठ अर्ब ५० करोड रुपैयाँले वृद्धि भई एक खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
मेगा बैंकले विभिन्न छुट तथा सुविधाहरू प्रदान गरिरहेको जानकारी दिँदै सीईओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुटलगायतले कोभिडबाट प्रभावित ग्राहकहरूलाई राहत मिलेको बताइन् । सीईओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब पाँँच अर्ब ७४ करोड रुपैयाँ सहुलियत कर्जा र तीन अर्ब ७६ करोड रुपैयाँ पुनर्कर्जाहरू प्रवाह गरेको छ ।
दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सीईओ खुञ्जेलीले बताइन् । बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरूलाई बैंकिङ सेवा र सुविधाहरू अटुट रूपमा प्रदान गरेको स्मरण गर्दै सीईओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरू सञ्चालनमा ल्याइएको जानकारी दिइन् ।
ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरूप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङजस्ता सेवा सञ्चालनमा ल्याएको उनले बताइन् । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका दुई सय तीनवटा शाखा कार्यालयहरू, २४ वटा एक्सटेन्सन काउन्टरहरू, एक सय ३९ वटा एटीएम मेसिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरू रहेका छन् ।