काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देश निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी विद्यार्थीको काँधमा रहेको बताएका छन् । काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा उनले शिक्षक, विद्यार्थी र अभिभावक राष्ट्रनिर्माणका वाहक भएको बताए । ‘शिक्षित र सभ्य युवा नै राष्ट्रनिर्माणका कर्णधार हुन्’, उनले भने, ‘मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डो¥याउने जिम्मेवारी पनि तपाईंकै काँधमा निहित छ ।’ यस्तै उनले नेपाली विद्यार्थीहरु पढाइको खोजीमा बाहिर जाने नभई अन्य देशबाट नेपाल आउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । ‘नेपाली विद्यार्थीहरु पढाइको खोजीमा अब बाहिर जाने होइन’, उनले भने, ‘अन्य देशका विद्यार्थीहरु काठमाडौं विश्वविद्यालयमा पढ्न आउन प्रतिस्पर्धा गर्न पाउने विश्वविद्यालयको रुपमा विकास गर्नुहोस् ।’ साथै उनले विश्वविद्यालय मानवजातिलाई जीवन जिउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो भएको बताए । विश्वविद्यालयको सहकुलपति समेत रहेका उनले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दीगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने दाबी समेत गरे । कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार चार सय ४९ स्नातक विद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ आर्टस्का दुई सय ३४, स्कुल अफ एजुकेसनका एक सय चार, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ लका ४०, स्कुल अफ म्यानेजमेन्टका चार सय १९, स्कुल अफ मेडिकल साइन्सेजका पाँच सय ८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए । साथै, यस वर्ष आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित विद्यार्थीमध्ये ४८ दशमलव ४५ प्रतिशत पुरुष र ५१ दशमलव ५५ प्रतिशत महिला छन् । यसैगरी बंगलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलंका, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका एक सय २३ जना विद्यार्थी दीक्षित भएका हुन् । यस वर्ष मास्टर इन पब्लिक पोलिसी एण्ड म्यानेजमेन्टमा ११, मास्टर इन एजर्नी एफिसेन्ट विल्डिङ डिजाइनमा तीन र मास्टर वाइ रिसर्च इन सिभिल इन्जिनियरिङमा दुई गरी १६ लाई विश्वविद्यालयले पहिलोपटक उपाधि प्रदान गरेको हो । विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबीएका १७ विद्यार्थीलाई उपाधि प्रदान गरेको थियो । (आर्थिक दैनिकबाट)