काठमाडौं । नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ । नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरूसमक्ष आग्रह गरेको हो ।
ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे । नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन उनले बंगलादेशी अधिकारीहरूलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने सम्भाव्य क्षेत्रहरूबारे पनि छलफल भएको थियो । अग्रवालले नेपालले काठमाडौंबाहिरका दुई सहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरूको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए । नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुई देशबीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ ।
काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता (प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट) टुंग्याउन आग्रह गरेका थिए । सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको उनले जानकारी दिए ।
परिसंघ–डीसीसीआई समझदारीपत्रमा हस्ताक्षर
नेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (डीसीसीआई)बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र डीसीसीआईका अध्यक्ष रिजवान रहमानबीच हस्ताक्षर भएको हो । समझदारीपत्रमा दुवै संगठनले एक अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ ।
कार्यक्रममा नेपालमा जलविद्युत्, पर्यटन, कृषि उद्योगलगायतका क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुन सक्ने बताए । समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीहरूको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युत् विकासमा चासो देखाएका छन् । कार्यक्रममा डीसीसीआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क, बिम्स्टेकलगायतका साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए । बंगलादेशले पछिल्लो पाँच वर्षमा औसत सात प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि गरिरहेको छ ।
निजी क्षेत्रलाई विकासको नेतृत्व
बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले निजी क्षेत्रमार्फत विकासको नेतृत्व गराउनुपर्ने बताएका छन् । परिसंघसँगको छलफलका क्रममा उनले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयमा सरकारी संयन्त्र उदार हुनुपर्नेमा जोड दिए । उनले आर्थिक सम्बन्ध विस्तारमार्फत दुई देशबीचको व्यापारघाटा न्यूनीकरणमा पनि जोड दिए ।
‘दुवै देश अहिले विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएका छन्, यस अवसरमा हामीसँग अवसर र चुनौती दुवै छन्’, उनले भने, ‘अब दुई देशले आर्थिक सम्बन्ध विस्तारमा जोड दिनुपर्छ, व्यापार अभिवृद्धि गर्नुपर्छ ।’ बंगलादेश सरकारले नीतिनिर्माण गर्दा सधैँ निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले यहाँ तीव्र आर्थिक र औद्योगिक विकास संभव भएको उनको भनाइ छ । बंगलादेशमा २५ प्रतिशत सांसदहरू निजी क्षेत्रमा सक्रिय व्यवसायी छन् ।
औद्योगीकरणमा बंगलादेशले गरेको प्रगति उदाहरणीय
नेपाली राजदूतावास ढाकाका चार्ज डि अफेयर्स कुमार राईले आर्थिक विकास र औद्योगीकरणमा बंगलादेशले गरेको प्रगति उदाहरणीय भएको बताएका छन् । राजदूतावासमा आयोजित रात्रिभोजमा उनले नेपालले तीव्र औद्योगीकरणमा बंगलादेशबाट पाठ सिक्न सक्ने बताए ।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक कूटनीति विस्तारमा राजदूतावासले आफ्नो भूमिका विस्तार गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बंगलादेशको ऊर्जा, उपभोग्य वस्तुलगायतका ठूला उद्योगीको उपस्थिति थियो । परिसंघ अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले यसअघि बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदसँग भेट गरेको थियो । भेटमा नसरुलले नेपालका निजी क्षेत्रसँग सिधै विद्युत् खरिद सम्झौता गर्न तयार रहेको बताए ।
बंगलादेशका मन्त्री एवं उच्चपदस्थ अधिकारीहरूसँगको भेट एवं औद्योगिक क्षेत्र भ्रमणमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा एवं उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे तथा राष्ट्रिय परिषद् सदस्य लक्ष्मीप्रसाद सुवेदी, द्विराज शर्मा, राष्ट्रिय परिषद् सदस्य एवं परिसंघ प्रदेश नं १ का अध्यक्ष भीमप्रसाद घिमिरे, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, महानिर्देशक यादवप्रसाद पौडेल, निर्देशक सविन मिश्र र सूर्य पेन्ट्स एन्ड इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत अभिजित सुवेदीको उपस्थिति थियो ।