काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक नया सीटी स्क्यान मेसिन जडान गरिएको छ । उक्त मेसिन मंगलबारदेखि नै सञ्चालनमा आएको हो । गत असार १६ गतेदेखि पदाधिकारीहरुको कार्यकक्षमा रहेको तालाबन्दी मंसिर २१ को सर्वोच्च अदालतको आदेशमा खुलेपछि अड्किएर रहेका कार्यहरु धमाधम हुनथालेको अस्पतालले जनाएको छ । प्रतिष्ठानमा सञ्चालित दुईवटा मेसिनमध्ये एउटा मेसिन बिग्रिएर काममा बाधा आएपछि विगत केही समयदेखि बिरामीहरुको उपचारमा केही कठिनाइ महशुस भइरहेको थियो ।
उक्त मेसिन जडान भई दुईवटा मेसिन सञ्चालनमा आएर बिरामीले सहज सुविधा पाउदा धेरै राहत महशुस गरिएको छ । २५६ स्लाइस क्षमताको उक्त मेसिन उपत्यकाबाहिर नै पहिलो हो । उक्त मेसिनबाट द्रुतगतिमा स्क्यान गर्न सकिने हुँदा सीटी स्क्यान गर्दा बिरामीमा पर्ने विकिरणीय जोखिम पहिलेको मेसिनको तुलनामा अत्यन्तै न्यून रहेको छ । सूक्ष्मभन्दा सूक्ष्मरुपमा गहिराइसम्म स्क्यान गर्नसक्ने साथै स्यानको क्षमता अत्यन्तै गुणस्तरीय रहेको हुँदा रोगको निदान गर्न निकै सहज हुनेछ ।
उक्त मेसिन नयाँ प्रविधिको र अत्याधुनिक भएकोले यसलाई सञ्चालन गर्ने विधिबारे रेडियोलोजी विभागका प्राविधिक कर्मचारीहरुलाई विज्ञबाट तालिम दिने कार्य सँगसँगै बिरामीहरुको सीटी स्क्यान गर्ने कार्य पनि भइरहेको बताइएको छ । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढी बिरामीहरुको सीटी स्क्यान गर्ने लक्ष्य रहेको छ । अत्यन्तै सुलभ मूल्यमा सेवाग्राहीले सुविधा पाउनसक्ने उक्त मेसिनबाट प्रतिष्ठानका विद्यार्थीहरुको पठनपाठन तथा अनुसन्धानको कार्यमा पनि टेवा पुग्नेछ ।
यसैगरी गते मंसिर २३ गतेबाट बिरामीको टिकट वितरणमा डिजिटल सेवाको सुरुवात भएको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसनमार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो । उक्त प्रविधिले घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुट्कारा पाएका छन् । यो सेवालाई अझ विस्तार गरी ल्याब परिक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने एवं पेइङतर्फको बिरामी नाम दर्ता समेत यथाशीघ्र सञ्चालन गराउने लक्ष्य रहेको अस्पतालले जनाएको छ ।