काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंकले स्थपनाको २५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । २८ असोज २०७८ मा २५औँ वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न नौवटा शाखा कार्यालहरूमा रक्तदान कार्यक्रम राखेको जानकारी दिएको छ । बैंकका अनुसार यस्तो कार्यक्रमबाट पाँच सय ७१ पोइन्ट रगत संकलन भएको थियो ।
मंगलबार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सन १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दे २५औँ वर्ष पार गरेको छ । २५औँ वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिति थप बलियो बनाउँदै लैजाने गरी काम गरिरहेको बताएका छन् ।
उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सीईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गरे । आफू पनि तल्लो पदबाट सीईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरे ।
समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रूपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रूपमा लिनुपर्ने बताए । साथै यस कम्पनीका सञ्चालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरे । बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने पाँच कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे, मंगलबहादुर बलामी र राजमान डंगोल रहेका छन् ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएम बुथहरू सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।