काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बुधबार आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वैट, बत्तीसपुतली, काठमाडौँमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका अनुज अग्रवालले गरेका हुन् । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र शंकर प्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका उच्चतहका अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिमबाट जोगिन÷जोगाउन आफ्ना सेयरधनीहरू अनलाइन माध्ययमबाट समेत सहभागी हुन सक्ने गरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्षरूपमा उपस्थित हुने सेयरधनीहरूलाई समेत स्वास्थ्यसम्बन्धी मापदण्डहरू पूर्ण पालना हुने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७/७८ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको उक्त सभाले आव २०७७/७८ को वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजी २० अर्बको आठ प्रतिशत बोनस सेयर प्रदान गर्ने र सोको कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम रहेको उक्त सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।