काठमाडौं । सरकारले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा विनियोजित बजेटको छ प्रतिशत रकम खर्च गरेको छ । राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको चौमासिक प्रतिवेदनमा संघीय सरकारले छ दशमलव नौ प्रतिशत खर्च गरेको उल्लेख गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १९ प्रतिशत कुल खर्च रहेको थियो । चालू आवको लागि सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा संघीय सरकारले चालू खर्च दुई खर्ब ३३ अर्ब ५१ करोड र पुँजीगत खर्च २० अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ३३ अर्ब २४ करोड रुपैयाँ गरी कुल दुई खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समीक्षा अवधिमा सरकारको कर राजस्व तीन खर्ब पाँच अर्ब ४० करोड रुपैयाँ र गैरकर राजस्व २८ अर्ब ९१ करोड गरी कुल राजस्व तीन खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै चालू आवको चार महिनाको अवधिमा प्रदेश सरकारहरुको खर्च १९ अर्ब ६५ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति ४२ अर्ब आठ करोड रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी २६ अर्ब दुई करोड रुपैयाँ हस्तान्तरण गरेको छ । यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट १६ अर्ब छ करोड रुपैयाँ परिचालन गरेका छन् ।
प्रतिवदेनअनुरुप संघ र प्रदेश सरकारको खर्च गर्ने क्षमता कमजोर रहेको देखिन्छ । यस्तै संघीय सरकारले राजस्व संकलन भने सन्तोषजनक रहेको पाउनसक्छौँ । सरकारले विनियोजित बजेट खर्च गर्न नसक्दा यसको असर बैंक तथा वित्तीय संस्था र समग्र विकास निर्माणको कार्य समेत देखिएको छ । विकास निर्माणको काम हुन नसक्दा बैंक तथा वित्तीय संस्थाबाट बजेट रकम वितरण प्रणाली समेत प्रभावित बन्ने सम्भावना बढ्दै जाने आशंका गर्न थालिएको छ ।