वासिङटन । संयुक्त राज्य अमेरिकाले धेरै अमेरिकी बायोटेक र सर्भेलियन्स कम्पनी तथा सरकारी कम्पनीविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बाइडेन प्रशासनले बिहीबार यस्तो निर्णय लिएको समाचार संस्था एपीले जनाएको छ । खासगरी सिन्जियाङ प्रान्तमा भएको भनिएको उगुर मुस्लिम अल्पसंख्यकमाथि मानवअधिकार हनन गरेको आरोप लगाउँदै पछिल्लो कदम चालेको हो ।
अमेरिकी वाणिज्य विभागले बायोटेक्नोलोजी प्रयोग गरी चिनियाँ सेनालाई सहयोग गर्ने चीनको एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेज र यसका ११ अनुसन्धान संस्थालाई निशाना बनाइरहेको छ । यसले अमेरिकी कम्पनीहरुलाई आफ्ना सरसामग्री उक्त कम्पनीलाई बिक्री गर्नबाट रोक्नेछ । त्यसका लागि अमेरिकी कम्पनीले लाइसेन्स लिनुपर्नेछ ।
चीनले बायोटेक्नोलोजी र मेडिकल आविष्कारलाई मानिस बचाउनभन्दा उनीहरुमाथि नियन्त्रणमा प्रयोग गरेकोले सह्य नभएको वाणिज्य सचिव जिना राइमोन्दोले वक्तव्यमा भनेकी छिन् । त्यस्तै अर्थ मन्त्रालयले पनि धेरै चिनियाँ सरकारी कम्पनीमाथि प्रतिबन्धको तयारी गरेको बताइएको छ । चाँडै यी कदमहरु सार्वजनिक गरिने बताइएको छ ।