ढाका । प्रान–आरएफएल ग्रुपको विद्युतीय उत्पादन ब्रान्ड भिजनले आफ्ना विद्युतीय केटल (जग) नेपालमा निर्यात गर्न थालेको छ । द डेलि स्टार अनलाइनका अनुसार पहिलो चरणमा कम्पनीले गत शुक्रबारदेखि नरसिंगडीको पलाशस्थित विद्युतीय कारखानाबाट निर्यात सुरु गरेको जनाएको छ ।
कम्पनीका अनुसार नेपालबाट राम्रो माग आएपछि निर्यात सुरु गरिएको हो । ‘हामीले नेपालबाट इलेक्ट्रिक केटलको राम्रो माग पाएका छौँ । यसअघि हामीले आठ हजार दुई सय ४४ इलेक्ट्रिक केटल पठाएका थियौँ र आगामी केही महिनामै एक लाख केटल नेपाल निर्यातको तयारीमा छौँ’, भिजनका प्रमुख सञ्चालन अधिकृत काजी रसिदुल इस्लामले भनेका छन्, ‘यसलाई हामीले निरन्तरता दिन सक्नेछौँ भन्ने आशा छ । अझै धेरै विद्युतीय वस्तुहरु टेलिभिजन, इलेक्ट्रिक आइरन, ब्लेन्डर्स, राइस कुकरहरु त्यहाँ निर्यात गर्न सक्नेछौँ ।’
कम्पनीले जारी गरेको प्रेस वक्तव्यअनुसार भिजनले नेपाल, भारत, दक्षिण अफ्रिका, घाना र फिजीबाट निर्यात सुरु गरिएको छ । केही अन्य देशमा समेत निर्यात गरिनेछ ।