काठमाडौं । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण शाखाहरूको शाखाप्रमुखस्तरीय दुईदिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । २०७८ मंसिर २५ र २६ गते पोखराको लेकसाइडस्थित होटल स्नोल्याण्डमा सञ्चालित गोष्ठीमा ९१ शाखाहरूबाट शाखाप्रमुख एवं शाखाका शप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता प्रबन्ध सञ्चालक केशवनारायण प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रूपमा उपस्थित संस्थाका सञ्चालक चन्द्र बहादुर क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्दै गोष्ठी सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालक विश्वराज नेपालको पनि उपस्थिति रहेको थियो ।
उक्त दुईदिने गोष्ठीमा शाखाहरूमा देखिएका समस्याहरू, लक्ष्य हासिलका लागि अपनाइने आगामी योजना र समस्या समाधानका उपायहरूको बारेमा विस्तृत छलफल भई संस्थाको नीति नियमको परिधिमा रही कारोबार सञ्चालनको लागि प्रबन्ध सञ्चालक केशव नारायण प्रधानले निर्देशन दिएका थिए । कार्यक्रमको अन्तमा विभिन्न विधामा उत्कृष्ट भएका शाखाहरूलाई सञ्चालक विश्व नेपाल, प्रबन्ध सञ्चालक केशवनारायण प्रधानलगायतले सम्मान गर्दै प्रमाणपत्र वितरण गरेका थिए । उद्घाटनसत्रको सञ्चालन वरिष्ठ प्रबन्धक फणिन्द्र पाण्डेले गरेका थिए भने गोष्ठी कार्यक्रमको सहजीकरण अधिकृत यामप्रसाद अर्यालले गरेका थिए ।