विराटनगर । कृषि उपजलगायत लामो समयसम्म भण्डार गरेर राख्नुपर्ने वस्तुहरूलाई वातानुकूलित बनाउने आधुनिक प्रविधिको शीत भण्डार निर्माण गर्न उद्योग वाणिज्य महासंघले प्रदेश सरकारसँग आग्रह गरेको छ । उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले उत्पादित खाद्यान्न वस्तुहरूको पोषण संरक्षण गर्न शीत भण्डार अति आवश्यक रहेकोले भण्डार निर्माण गर्नको लागि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल समेत सुरु गरेको छ । महासंघले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश नम्बर एकका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रामनन्दन तिवारीले कृषि क्षेत्रमा शीत भण्डारको प्रयोगको अवस्था र आवश्यकताबारे आधारभूत सर्वेक्षणको आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।
शीत भण्डारलाई पनि आवश्यकता पहिचान गरेपछि सरकारले मापदण्ड बनाएर सार्वजनिक र निजी क्षेत्रसँग सहकार्य गरी शीत भण्डार निर्माण गर्ने उनको भनाइ थियो । शीत भण्डार निर्माण गर्न चाहनेलाई सहुलियत प्रदान गर्नेतर्फ पनि प्रदेश सरकार सकरात्मक रहेको उनले बताए । कृषि क्षेत्रबाट फाइदा लिनका लागि उत्पादनका साथै भण्डारणको पनि ठूलो भूमिका हुने भन्दै सचिव तिवारीले सहुलियत लिएका निजी तथा सामुदायिक क्षेत्रले निर्माण र सञ्चालन गरेका शीत भण्डारहरूले सहुलियत रूपमा किसानलाई सुविधा दिनुपर्ने बताए ।
महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा किसानहरूलाई सशक्तीकरण गर्न, कृषि उत्पादनलाई वृद्धि गर्न र उत्पादित खाद्यान्न वस्तुहरूको पोषण संरक्षण गर्न शीत भण्डार अति आवश्यक रहेको सहभागीहरूको भनाइ थियो । सहभागीहरूले सरकारले समेत शीत भण्डार निर्माण गरी तल्लो तहमा रहेका किसानलाई सहुलियत रूपमा शीत भण्डारणको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष ढकालले शीत भण्डार सञ्चालकहरूले सेवाका नाममा कार्टेलिङ गर्न नहुने बताए । महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का सल्लाहकार अविनाश बोहराले नेपालमा ४३ वटा शीत भण्डारहरू सञ्चालनको अवस्थामा रहे पनि अघिकांश घाटामा चल्नुपरेको जानकारी दिए । उनले शीत भण्डार सञ्चालनपूर्व किसानहरू उत्पादन र बजारीकरणका लागि पनि सशक्त बन्नुपर्ने सुझाव दिएका थिए । बोहराले नेपालमा भन्दा भारतमा शीत भण्डारका कारण कृषि उत्पादन सञ्चितीकरणको अवस्था राम्रो रहेकोले सरकारले नीति निर्माण गरी निजी क्षेत्रसँग सहकार्य गरेर शीत भण्डार निर्माण गरी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा प्रदेश १ मा शीत भण्डारसम्बन्धी मापदण्डका सम्बन्धमा वासुदेव अधिकारीले यस प्रदेशभरिमा १७ वटा शीत भण्डार सञ्चालन रहेको जानकारी दिए । उनले शीत भण्डार सञ्चालनका लागि उपयुक्त स्थान, विद्युत् आपूर्ति, यातायात र मौसमअनुकूलको स्थान नै उपयुक्त हुने जानकारी दिएका थिए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको योजना महाशाखा प्रमुख पशुपति पोखरेलले सरकारले शीत भण्डार सञ्चालन र व्यवस्थापनका लागि नियमावली ल्याएर पहिलो चरणको काम अघि बढाइ सकेको जानकारी गराएका थिए । कानुन नै निर्माणको प्रक्रिया अघि बढाए पनि संघ र प्रदेशबीचको अधिकार बाँडफाँटमा भएको ढिलासुस्तीले त्यसलाई अघि बढाउन नसकिएको प्रस्टीकरण माहाशाखा प्रमुख पोखरेल दिएका थिए । (आर्थिक दैनिकबाट)