काठमाडौं । जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ सुरु भएको उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी छ दिने तालिम कार्यक्रम समापन भएको छ । यो कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।
तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वराज्यमन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । महिलाहरूको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरू तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरूलाई समेत तालिममा सहभागी गराएका थिए ।
उक्त कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरूको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । त्यस्तै, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरूलाई आफ्नो क्षमतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिएका थिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरू अहिले करोडौँको कारोबार गरिरहेको उदाहरण दिँदै ठूलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशीलता विकास र स्वरोजगार प्रवद्र्धनमा नबिल बैंकको सधैँ साथ रहने बताए ।
जुम्लाबासीको उत्साहपूर्ण सहभागिताको सम्बन्धमा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले उनीहरू सक्रियरुपमा सहभागी मात्र नभई आफ्ना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गरेको बताए । उनले कार्यक्रममा सहभागी हुन टाढा–टाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेर समेत आएको देख्दा उत्साहित भएको बताए । उनका अनुसार, त्यहाँ स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोेले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको समेत भेडाबाख्रा पालन त्यहाँका बासिन्दाको मुख्य व्यवसाय हुनसक्ने उनले बताए । दिगो बैंकिङ प्रवर्द्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उनले जानकारी दिए ।
तिला गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचनाबमोजिम दरखास्त दिई छनौट भएका युवाहरूलाई यही मंसिर २० गतेदेखि मंसिर २७ गतेसम्म सञ्चालित सातदिने तालिम प्रदान गरिएको थियो । तालिममा छ सय ३२ जनाले आवेदन दिएका थिए । एक सय ९४ परिवारका सदस्यहरू सहभागी भएको उक्त तालिम÷कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढी रहेको थियो ।