काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट छ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको तीन सय ५२औँ बैठकले चुक्ता पुँजीको छ दशमलव पाँच प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।
बैंकको २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब तीन करोड ४४ लाख २९ हजार पाँच सय दुई रुपैयाँ ५० पैसामध्येबाट पाँच दशमलव ७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार छ सय ९६ रुपैयाँ ३९ बराबरको बोनश सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ३० प्रतिशतले हुन आउने रकम दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसाबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ।