ढाका। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालू आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर अनुमानमा फेरि संशोधन गरेको छ । आईएमएफले ले यो वर्ष बंगलादेशको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहने बताएको हो ।
यसअघि साढे छ प्रतिशतमात्रै आर्थिक वृद्धि हुने अनुमान गत अक्टोबरमा गरिएको थियो । अमेरिकी राजधानी सहर वासिङटनमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रेस ब्रिफिङमार्फत यस्तो जानकारी गराएको डेलिस्टार अनलाइनले जनाएको छ ।
खासगरी आर्थिक गतिविधिमा आएको बढोत्तरी तथा निर्यात आम्दानीमा आएको सुधारले वृद्धिदर बढ्ने आईएमएफको भनाइ छ । यो अनुमानित वृद्धिदर सरकारी लक्ष्यको तुलनामा भने निकै कम हो । बंगलादेश सरकारले यो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । अर्को वर्ष भने आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहनेछ भने सन् २०२३ मा बढेर ७.१ प्रतिशतसम्म पुग्न सक्नेछ ।