मनिला । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या एक सय आठ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु-याउने प्रयासहरू बढ्दै गएको छ । राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि तीन लाखभन्दा बढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।
आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उडाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले बिहीबार प्रतिघण्टा एक सय ९५ किलोमिटर (एक सय २० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।
सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौँ सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपत्कालीन सेवाहरूले चन्दाको लागि अपील गरेका छन् ।