काठमाडौं । सामाजिक सुरक्षा कोषमा अझै पनि उल्लेखनीय मात्रामा श्रमिक र रोजगारदाता आउनसकेका छैनन् । श्रमिक र रोजगारदाता दुवैको हितमा रहेको बताउँदै आएको कोषमा दुवै पक्ष आउन चाहिरहेको छैन । कोषमा चालू आर्थिक वर्षको मंसिरसम्ममा ११ अर्ब रुपैयाँ संकलन भएको छ । यस्तै श्रमिक अर्थात् योगदानकर्ताहरु दुई लाख ९९ हजार दुई सय ३२ र रोजगारदाताहरु १६ हजार १५ जना रहेका छन् । सो संख्या पाँचवटै प्रदेशका हुन् ।
केन्द्रीय तथ्यांक विभागका अनुसार देशभर नौ लाख वटाभन्दा बढी प्रतिष्ठान छन् । ती प्रतिष्ठानमा ३४ लाख जना श्रमिक कार्यरत रहेका छन् । प्रतिष्ठान र त्यसमा कार्यरत श्रमिकहरुको संख्या हेर्दा कोषमा आबद्ध हुने श्रमिक र रोजगारदाता भने ज्यादै न्यून रहेको पाइन्छ । पछिल्लो समय बैंकलाई कोषमा आबद्ध गराउन समेत सकेको छैन । कतिपय प्रतिष्ठान तथा रोजगारदाताहरु अझैसम्म पनि कोषमा आउन चाहेका छैनन् ।
यसैबीच कोषले श्रमिक तथा योगदानकर्तामार्फत रकम संकलन तथा वितरणलाई भने निरन्तरता दिएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ३४ करोड ४४ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ४८ करोड २२ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा नौ करोड ३० लाख रुपैयाँ, वृद्ध अवस्था सुरक्षा योजना आठ अर्ब २८ करोड ८४ लाख रुपैयाँ, साधारण अवकाश कोषमा एक अर्ब ४७ करोड तीन लाख रुपैयाँ, अतिरिक्त योगदान कोषमा सात करोड ७३ लाख रुपैयाँ संकलन भएको छ । यस्तै अन्य कोषबाट स्थानान्तरण २१ करोड ५० लाख रुपैयाँ र लगानी प्रतिफल कोषमा तीन करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । कोषले रकम संकलन गर्ने योगदानकर्तालाई सुविधा अर्थात् रकम वितरण समेत गरेको छ । मंसिरसम्ममा ५३ करोड १४ लाख रुपैयाँ योगदानकर्तालाई रकम वितरण गरेको हो । दाबी गर्नेहरु ११ हजार पाँच सय ५१ जना तथा दावी भुक्तानी संख्या १४ हजार नौ सय ६५ पटक गरिएको हो ।
औषधि उपभार, स्वास्थ्य तथा मातृत्व योजनामा सात करोड ६४ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ६५ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा एक करोड २२ लाख रुपैयाँ र वृद्ध अवस्था सुरक्षा योजनामा ४३ करोड ६२ लाख रुपैयाँ वितरण गरिएको छ । सबैभन्दा बढी योगदानकर्ता र रोजगारदाता बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा योगदानकर्ता दुई लाख २४ हजार सात सय आठ जना र रोजगारदाता १० हजार नौ सय २२ जना रहेका छन् । सबैभन्दा कम भने कर्णाली प्रदेशमा योगदानकर्ता नौ सय २५ जना र रोजगारदाता एक सय ९० जना रहेका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रस्तावनामा नै श्रमिकको हितलाई प्राथमिकता दिएको छ । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा गर्नु यस कोषको उद्देश्य हुने ऐनको प्रस्तावनमा उल्लिखित छ । मुलुकभरका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरुप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणलाई मूर्तरुप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिकहरुलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् । तर उद्देश्यअनुरुप कोष अघि बढ्नसकेको छैन ।