काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’को संज्ञा दिएको केही घण्टापछि नेपाल राष्ट्र बैंकले सोमबार राति जारी गरेको आयात नियन्त्रणसम्बन्धी परिपत्रले देशको अर्थतन्त्र वास्तवमै संकटमा परेको प्रस्ट संकेत गरेको छ ।
राष्ट्र बैंकको आयात नियन्त्रणसम्बन्धी परिपत्रले अर्थमन्त्री शर्माको अर्थतन्त्र सबल छ भन्ने भनाइ नै ‘नियोजित हल्ला’ भएको पुष्टि गरिदिएको छ । यसले अर्थमन्त्री शर्मा अर्थतन्त्रका बारेमा कि त पूरै अनभिज्ञ छन् कि त पूरै झूट बोलिरहेका छन् भन्ने देखाइदिएको छ ।
अर्थमन्त्री शर्माले सोमबार अर्थ मन्त्रालयमा आयोेजित पुँजीगत खर्चसम्बन्धी अन्तर्मन्त्रालयगत छलफल तथा अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताएका थिए । ‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो । तर अन्य सूचकहरु संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो’, अर्थमन्त्री शर्माले भनेका थिए । तर, राति अबेर राष्ट्र बैंकले वाणिज्य बैंक तथा विकास बैंकहरुका नाममा जारी गरेको परिपत्रले अर्थतन्त्र संकटतर्फ गएको प्रस्ट पारेको छ ।
देशमा विदेशी मुद्राको सञ्चित अत्यन्तै कम हुनथालेपछि राष्ट्र बैंकले जारी गरेको परिपत्रमा केही निश्चित वस्तु आयातमा मूल्यको शतप्रतिशत नगद जम्मा गर्नुपर्ने र सवारीसाधन आयातमा ५० प्रतिशत रकम नगद जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यो व्यवस्थाले नेपालमा विदेशी मुद्राको सञ्चिति अवस्था दयनीय हुँदै गएको प्रस्ट पारेको छ । कुनै पनि देशको लागि विदेशी मुद्राको सञ्चिति घट्नु अत्यन्त खराब सूचक मानिन्छ । तर, अर्थमन्त्री शर्माले विकास खर्चबाहेक अन्य सूचक अत्यन्त राम्रो भएको झूट सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोलेका थिए ।
विदेशी मुद्राको सञ्चितिमा कमी आएपछि राष्ट्र बैंकले आयातलाई निरुत्साहित गर्ने गरी वाणिज्य र विकास बैंकहरुका नाममा नयाँ परिपत्र जारी गरेको हो । नयाँ परिपत्रअनुसार वस्तु आयात गर्न प्रतीतपत्र खोल्नुअघि नै अनिवार्य नगद जम्मा गर्नुपर्नेछ । राष्ट्र बैंकले तोकेका डेढ दर्जन वस्तु आयात गर्दा अनिवार्य रुपमा शतप्रतिशत नगद जम्मा गर्नुपर्नेछ । दुई प्रकारका वस्तु आयातमा मात्र ५० प्रतिशत नगद जम्मा गरेपछि प्रतीतपत्र खोल्न पाइनेछ ।
राष्ट्र बैंकले सोमबार राति जारी गरेको परिपत्रमा गाडी र मोटरसाइकल आयातमा ५० प्रतिशत रकम जम्मा गरेर प्रतीतपत्र खोल्न सकिनेछ भने चिनी, चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा र भिनानगर, चुरोट, सुर्तीजन्य वस्तु, अत्तर, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ता÷चप्पल, छाता र लठ्ठी, मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु, सुन, चाँदीलगायतका वस्तु आयात गर्दा विदेशी बजारमा तिरिने मूल्यको शतप्रतिशत रकम नगद नै बैंकमा राखेपछि मात्र प्रतीतपत्र खोल्न पाइनेछ । यसअघि आयातको प्रक्रिया थाल्दा नगद मार्जिन अनिवार्य गरिएको थिएन । बैंक र आयातकर्ताबीचको आपसी समझदारीमा प्रतीतपत्र खोल्ने गरिएको थियो । कति पैसा जम्मा गरेपछि प्रतीतपत्र खोल्ने भन्ने विषयमा यसअघि बैंक र आयातकर्ताको समझदारीमा काम हुने गरेको थियो ।
गत असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको थियो भने अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड र कात्तिक मसान्तमा १० अर्ब ४७ करोडमा झरेको छ । यसले देशको आर्थिक अवस्था दैनिक कमजोर बन्दै गएको प्रष्ट संकेत गरेको छ ।
विदेशी मुद्रा सञ्चिति घटेपछि राष्ट्र बैंकको उक्त परिपत्रका कारण तोकिएका ती वस्तु आयातमा उल्लेख्य कमी आउने तथा नेपाली बजारमा ती वस्तुको मूल्य बढ्नेछ । तर, विद्युतीय सवारीसाधन नेपाल ल्याउनको लागि भने व्यवसायीहरुले त्यसरी रकम जम्मा नगरे पनि प्रतीतपत्र खोल्न पाउनेछन् । विद्युतीय सवारीले अन्य वस्तुको आयातमा दबाब नदिने भएको कारण राष्ट्र बैंकले आयातमा सहुलियत र सुविधा दिएको हो । विद्युतीय सवारीसाधनको अतिरिक्त औषधिजन्य पदार्थ र औद्योगिक कच्चा पदार्थ आयातमा पनि उक्त मार्जिन रकमको व्यवस्था गरिएको छैन । नेपालको रेमिट्न्यास साउनमा १८ प्रतिशतले, असोजमा आठ प्रतिशत, कात्तिकमा सात दशमलव पाँच प्रतिशतले घट्दा विदेशबाट आउने रकम ह्वात्तै घटेको देखिएको छ ।
आयात बढेको कारण चालू आर्थिक वर्षमा देशको चालू खाता तथा शोधनान्तर स्थिति कमजोर छ । कात्तिक महिनासम्म शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा छ । अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब १० अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो । कुनै पनि देशको आय र व्ययको विवरण देखाउने खाता नै चालू खाता हो । मुलुकको आय बढ्दा चालू खाता नाफामा देखिन्छ भने व्यय बढ्दा उक्त चालू खाता खाटामा देखिन्छ ।
नेपाल भित्रिने र नेपालबाट बाहिरिने रकमको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानु भनेको नेपालबाट बढी रकम विदेशिनु हो । नेपालमा आयात अत्यधिक बढ्दै गए पनि रेमिट्यान्स घट्न जाँदा र वस्तु निर्यात नहुँदा शोधनान्तर स्थिति घाटामा जान्छ । वस्तु निर्यात नहुँदा विदेशी मुद्रा नेपाल भित्रिनसकेको छैन भने कोभिडलगायतका कारण वैदेशिक रोजगारीमा कमी आउँदा रेमिट्यान्स क्रमशः घट्दै गएको छ । यसले देशको समग्र आर्थिक अवस्थालाई थप कमजोर बनाएको छ ।