विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा व्यापार गर्ने व्यापारीहरूले पछिल्लो दुई वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को माहामारीबाट व्यापार व्यवसाय नै चौपट भएको गुनासो गर्नेगरेका छन् । तर सोही समयमा राठी ग्रुपले भने एक करोडभन्दा बढी मूल्य पर्ने अपार्टमेन्ट खरिद गरेको छ ।
व्यापार घाटामा गएको भनेर आयव्यय विवरण बुझाएको उक्त कम्पनीले राजस्व छली गरी अपार्टमेन्ट खरिद गरेको पाइएको हो । विराटनगर महानगरपालिकामा रहेको राठी मेनुफ्याक्चरिङ २०५२ सालमा दर्ता भएको थियो । दर्ता भएदेखि नै कम्पनीले आफू घाटामा गएको विवरण सरकारलाई बुझाउँदै आएको छ ।
कम्पनीका सञ्चालक राजेन्द्र कुमार राठी रहेको राठी मेनुफ्याकचरिङले व्यापार घाटामा गएको बताए पनि पछि गएर उक्त फर्ममा नै अन्नपूर्ण सोलारको समेत कारोबार थप गरिएको पाइएको छ । राठी ग्रुपले राठी मेनुफ्याक्चरिङ, अन्नपूर्ण पोलिकेम इन्डष्ट्रिज, राठी ब्रदर्स र राठी हार्डवेयर एन्ड सेनेटरी जस्ता समयअनुकूल व्यावसायिक फर्म दर्ता गरेर व्यापक रूपमा राजस्व छल्न सफल भएको सार्वजनिक भएको हो ।
यसबाहेक यही ग्रुपले अन्नपूर्ण केवल, अन्नपूर्ण बाइन्डिङ, राठी कोल र राठी एडेसिवजस्ता अन्य चार उद्योग समेत दर्ता गरी सञ्चालनमा ल्याएको छ । त्यसबाहेक जितेन्द्र राठी र राजेन्द्रकुमार राठीको नाममा अर्को अन्नपूर्ण इम्पेक्स नामको ट्रेडिङ फर्म समेत दर्ता गरेको कुरा स्रोतले बताएको छ । उद्योगलगायत समयअनुकूल ट्रेडिङको समेत व्यापार सञ्चालन गरेको छोटो समयमा नै हौसिएको यो राठी ग्रुपले सरकारको निर्देशनविपरीत गएर अकल्पनीय राजस्व ठगी गरेको दाबी स्रोतले गरेको छ ।
विराटनगरमा एक्कासि करोडपतिबाट अर्बपतिमा उक्लिएको राठी समूह र सञ्चालक राजेन्द्र कुमार राठीका लागि दुई वर्षदेखि चलेको कोभिड १९ को महामारी अहिले आएर दिन दुना रात चौगुना भएको कुरा स्रोतले बताएको छ । यसैको मौका छोपी राठी ग्रुपका मुख्य सञ्चालक राजेन्द्र कुमार राठीले कोभिड १९ को माहामारीमा व्यापार व्यवसाय चौपट भएको अवस्थामा पनि विराटनगरमा रहेको इस्टर्न सिटी अपार्टमेन्टमा व्यवसायी हेमराज दुगढले बिक्री गरेको अपार्टमेन्ट एक करोड २५ लाखमा खरिद गरेको छ ।
राठी ग्रुपले समयअनुकूल ट्रेडिङ कारोबार गर्दा आयात भएको वस्तुमा भन्सार महसुल कम पर्ने र मूअ कर समेत रिफन्ड हुनेहुँदा यो समूहले तयारी वस्तुलाई नै कच्चापदार्थको घोषणा गरेर भन्सारदेखि भ्याटसम्ममा अकल्पनीय राजस्व ठगी गर्नेगरेको रहस्य पनि अहिले आएर मात्र खुलेको छ ।