काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको मदानपुरमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकका अनुसार देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका, मदानपुरमा यही पुस २ गतेबाट ८८औँ शाखारहित बैंकिङ सुरु गरिएको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सुब्बालाल श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दैै आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरूलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।