अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका बेला नेपालसहित २५ सदस्य देशलाई दिएको ऋण सुविधा राहतको समय थपेको छ ।आईएमएफको बोर्ड बैठकले यही डिसेम्बर १५ मा महाविपत्ति नियन्त्रण तथा राहत ट्रस्ट (सीसीआरटी)अन्तर्गतको पाँचौँ र अन्तिम किस्ता स्वीकृत गर्दै यो सुविधाको समय सन् २०२२ को जनवरी ११ सम्म रहेकामा अब अप्रिल १३ सम्म लम्ब्याएको हो ।
योसँगै थप ११ करोड ५० लाख अमेरिकी डलर पाँचौँ किस्ता पनि स्वीकृत भएको छ । आईएमएफले अप्रिल १३, २०२० मा पहिलो, अक्टोबर २, २०२० मा दोस्रो, अप्रिल १, २०२१ मा तेस्रो र अक्टोबर ६, २०२१ मा चौथो किस्ता उपलब्ध गराएको थियो ।
कोरोनाविरुद्ध लड्न सघाउ पुर्याउने उद्देश्यले यी २५ देशलाई यो सुविधा उपलब्ध गराइएको थियो । २५ देशमा नेपालसहित अफगानिस्तान, बेनिन, बुर्किनाफासो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, कोमोरस, कंगो, डीआर, द गाम्बिया, गिनी, गिनी बासु, हैटी, लाइबेरिया, माडागास्कार, मालावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोम, प्रिन्साइप, सिएरा लिओन, सोलमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन छन् ।
आईएमएफले यो २ वर्षका लागि दिएको सुविधा हो । यसअन्तर्गत नेपालले पहिलो किस्तामा २८ लाख ५२ हजार एसडीआर, दोस्रो किस्तामा ३५ लाख ६५ हजार एसडीआर, तेस्रो किस्तामा ३५ लाख ६५ हजारको सुविधा दिएको थियो । चौथो किस्ता नपाएको नेपालले पाँचौँ र अन्तिम किस्ताअन्तर्गत ३५ लाख ६५ हजार एसडीआर समेत गरी कुल १ करोड ३५ लाख ४७ हजार एसडीआर पाएको छ ।
आईएमएफकी प्रबन्धनिर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२० मार्चमा यो सुविधा सुरु गरेकी थिइन् । यसमा १ अर्ब एसडीआर (झण्डै एक अर्ब ४० करोड डलर) उठाउने र सीसीआरटीलाई अनुदानस्वरुप उपलब्ध गराउने उद्देश्य राखिएको थियो । त्यसपछि सीसीआरटीले ऋण आवश्यक पर्ने कोभिडसम्बन्धित राहतको रुपमा ऋण सुविधा उपलब्ध गराउने भनिएको थियो । यसको अवधि दुई वर्ष हुने भनिएको थियो ।
यसका लागि युरोपेली संघ, बेलायत, जापान, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, स्पेन, स्विटजरल्यान्ड, नर्वे, सिंगापुर, ग्रिस, चीन, मेक्सिको, फिलिपिन्स, स्विडेन, बुल्गेरिया, लक्जेम्बर्ग, माल्टा र इन्डोनेसियाले ८५ करोड २० लाख डलर अर्थात् झण्डै ६० करोड ९० लाख एसडीआर उपलब्ध गराउने प्रतिबद्धता जनाएको आईएमएफले जनाएको छ ।
के हो एसडीआर ? यो स्पेसल ड्रविङ राइट्सको छोटकरी रुप हो । यो भनेको आईएमएफले बनाएको एक प्रकारको कृत्रिम मुद्रा साधन हो । अन्तर्राष्ट्रिय एकाउन्टिङ प्रयोजनका लागि यसको प्रयोग गरिन्छ । एसडीआरको मूल्य मुख्य मुद्रा अमेरिकी डलर, युरो, जापानी येन, चिनियाँ युआन र पाउन्ड स्टर्लिङको मूल्यअनुसार निकालिन्छ । आईएमएफसँग ऋण लिने सदस्यराष्ट्रका लागि एसडीआर ब्याजदरलाई आधार मानेर ब्याज असुल गरिन्छ ।