काठमाडौं । सरकारले विदेशबाट आयातमा हुने वस्तुमा कडाइ गरेपछि सेयरबजार परिसूचक उकालो लागेको छ । आयात कडाइ गरेको समाचार प्रकाशित भएकै दिन ५२ अंकले उकालो लागेको सेयरबजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार पुनः ९२ दशमलव १६ अंकले उकालो लागेर २५ सय सात दशमलव ७० विन्दुमा चढेको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा विकास बैंकहरुलाई सोमबार राति परिपत्र गर्दै आयातमा शतप्रतिशत नगद जम्मा गरेपछि प्रतीतपत्र खोल्न दिने भनेको थियो । यसले विदेश पैसा जानबाट रोकिँदा केही वस्तुको आयातमा अघोषित रुपमा प्रतिबन्धजस्तै लागेको छ । एक लाख रुपैयाँको सामान ल्याउनको लागि पहिला नै एक लाख रुपैयाँ जम्मा गर्नुपर्नेछ । यसअघि बैंक तथा व्यापारीको सहमतिमा प्रतीतपत्र खोल्ने काम हुँदै आएको थियो । अब नगद पहिला नै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको कारण व्यापारीहरुलाई सामान ल्याएर क्रमशः पैसा बैंकमा जम्मा गर्ने प्रवृत्तिको अन्त्य भएको छ ।
नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । आर्थिक पत्रकारहरूसँग केन्द्रीय बैंकले राजधानीमा बुधबार आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत दुई हजार पाँच सय अर्ब, ओभरनाइट रिपोबाट ६९ अर्ब, रिपोमार्फत दुई सय २० अर्ब र सोझै खरिद गरेर २७ अर्ब प्रवाह भएको जानकारी दिए ।
आयातमा कडाइ गरेपछि बुधबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ७४ अंकले उकालो लागेर चार सय ७७ दशमलव २६ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ३३ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जसबाट ५५ हजार नौ सय ९७ पटकको कारोबारमा ८१ लाख चार हजार तीन सय १९ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यस दिन कुल सेयर कारोबार रकम चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक उकालो लागेर सेयरबजार परिसूचक पूरै हरियो देखिएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ३७ दशमलव १४ अंकले उकालो लागेर १७ सय १२ दशमलव ७० विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि दुई सय ३० दशमलव ६३ अंकले उकालो लागेर ४४ सय १७ दशमलव ९२ विन्दुमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि एक सय ६२ दशमलव ६६ अंकले उकालो लागेर २८ सय ५९ दशमलव ७० विन्दुुमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि ७४ दशमलव छ अंकले उकालो लागेर २१ सय ९९ दशमलव ३१ विन्दुमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि चार सय ८७ दशमलव ३६ अंकले उकालो लागेर १० हजार सात सय १९ दशमलव ७९ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि पाँच सय दुई दशमलव ७७ अंकले उकालो लागेर १३ हजार एक सय १३ दशमलव नौ विन्दुमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः दुई सय दुई दशमलव ८७, एक सय तीन दशमलव ५८, चार सय ५२ दशमलव तीन, ६४ दशमलव नौ, एक सय ८२ दशमलव ८७, शून्य दशमलव शून्य सात र तीन दशमलव ८९ विन्दुले उकालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ३७ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर १२ सय ३४ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक अपर तामाकोशी हाइड्रोपावर कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संंस्था आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नबिल बैंक डिबेन्चर–८५ को प्रतियुनिट सेयर मूल्य चार दशमलव ५९ प्रतिशतले घटेर नौ सय ३५ रुपैयाँ अन्तिम मूल्यमा किनबेच भएको छ । दोेस्रो स्थानमा परेको प्रभु सेलेक्ट फण्डको प्रतियुनिट सेयर मूल्य पनि दुई दशमलव ४९ प्रतिशतले घटेर नौ रुपैयाँ अन्तिम मूल्यमा किनबेच भएको छ । यीबाहेक गोर्खाज फाइनान्स, लक्ष्मी इक्विटी फण्ड आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यस दिन हिमालयन डिस्टिलरी प्रालिको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सात हजार रुपैयाँ अन्तिम मूल्यमा ६८ करोड ३४ लाख ५० हजार चार सय ५२ रुपैयाँ १० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता छ सय ४९ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ८२ लाख ५४ हजार चार सय १७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अरुण भ्याली हाइड्रो पावर कम्पनी, गोर्खाज फाइनान्स आदिको पनि बढी रकम कारोबार भएका छन् ।