काठमाडौँ । नेपालमा एटीएम काउन्टरको संख्या चार हजार तीन सय ७७ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुले उक्त संख्यामा एटीएम काउन्टर विस्तार गरेका हुुन् । सोमध्ये वाणिज्य बैंकहरुको चार हजार २६, विकास बैंकहरुको तीन सय आठ र फाइनान्स कम्पनीहरुको ४३ वटा एटीएम काउन्टरहरु सञ्चालनमा छन् । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने छ हजार एक सय ३६ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको चार हजार आठ सय ४३, विकास बैंकहरुको एक हजार ४९ र फाइनान्स कम्पनीहरुको दुई सय ४४ वटा शाखाहरु सञ्चालनमा छन् । शाखारहित सेवाकेन्द्रको संख्या भने १७ सय ५२ पुगेको छ । शाखारहित सेवा केन्द्र विकास बैंक र फाइनान्स कम्पनीहरुले सञ्चालन गरेका छैनन् । सोही आधारमा शाखारहित सेवा केन्द्रमा रहेका ग्राहकहरुको कुल संख्या भने दुई लाख ३५ हजार चार सय ८१ मात्र रहेको छ । यस अवधिमा मोबाइल बैंकिङ कस्टुमरको संख्या एक करोड ५१ लाख ५३ हजार चार सय ६३ पुुगेको छ । सोमध्ये वाणिज्य बैंकमा एक करोड ३४ लाख ५३ हजार सात सय ३९, विकास बैंकहरुमा १६ लाख ३६ हजार ६८ र फाइनान्स कम्पनीहरुमा ६३ हजार छ सय ५६ जना मोबाइल बैंकिङ कस्टुमर रहेका छन् । राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तसम्ममा इन्टरनेट बैंकिङ कस्टुमरको संख्या भने १२ लाख ५८ हजार पाँच सय ८६ रहेको छ । जसमध्ये वाणिज्य बैंकमा ११ लाख ९३ हजार पाँच सय छ, विकास बैंकहरुमा ५६ हजार छ सय ७३ र फाइनान्स कम्पनीहरुमा आठ हजार चार सय सात जना रहेका छन् । बैंकिङ प्रणालीमा डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने ९३ लाख ६९ हजार छ सय ७८ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा ८९ लाख ५० हजार छ सय ३२, विकास बैंकहरुमा तीन लाख ८४ हजार दुई सय ८७ र फाइनान्स कम्पनीहरुमा ३४ हजार सात सय ५९ डेबिट कार्ड प्रयोगकर्ताहरु छन् । यीबाहेक प्रिपेड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संंख्या भने क्रमशः ८० हजार छ सय ९३ र दुई लाख चार हजार नौ सय ५६ रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने प्रिपेड कार्ड र क्रेडिट कार्ड चलाउनेहरुको संख्या शून्य रहेको राष्ट्र बैंकले जनाएको छ ।