काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक संस्थालाई कडाइ गरेको छ । भुक्तानीसम्बन्धी कारोबार सञ्चालन एवं व्यवस्थापनलाई चुस्त दुरुस्त र पारदर्शी बनाउन भुक्तानी प्रदायक संस्थालाई कडाइ गरिएको देखिएको छ ।
राष्ट्र बैंकले बिहीबार सबै किसिमका भुक्तानी प्रदायक संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु एवं नेपाल क्लियरिङ हाउस समेतको नाउँमा परिपत्र जारी गर्दै नियमितरुपमा भुक्तानीसम्बन्धी सम्पूर्ण कारोबारको विवरण पठाउन निर्देशन दिएको हो ।
उक्त निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आफ्नो शाखारहित बैंकिङ सेवा केन्द्र र एटीएम मेसिन रहेको स्थानको विवरण आवश्यकताअनुसार सञ्चालन भएको सात दिनभित्र राष्ट्र बैंकमा पठाइसक्नुपर्नेछ । यसका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहक तथा विद्युतीय कार्डको विवरण र इ–बैंकिङ कारोबारसम्बन्धी विवरण मासिकरुपमा अर्को महिनाको ७ गतेभित्र पठाइसक्नुपर्नेछ ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको हकमा पनि भुक्तानी सेवा प्रदायकको कारोबारसम्बन्धी विवरण, भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबारसम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाबमिलान विवरण र भुक्तानी सेवा प्रदायकको ग्राहकसम्बन्धी विवरण पनि मासिकरुपमा अर्को महिनाको ७ गतेभित्र बुझाउन निर्देशन दिएको छ । भुक्तानी प्रणाली सञ्चालकको हकमा पनि राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकको कारोबारसम्बन्धी विवरण र सफल र असफल कारोबारसम्बन्धी विवरण मासिकरुपमा अर्को महिनाको ७ गतेभित्र बुझाउन निर्देशन दिएको छ ।
भुक्तानी सेवा प्रदायकको हकमा पनि भुक्तानी सेवा प्रदायकको एजेन्टसम्बन्धी कारोबारको विवरण मासिकरुपमा अर्को महिनाको ७ गतेभित्र राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । यसैगरी भुक्तानी सेवा सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुले पनि क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबारसम्बन्धी विवरण मासिकरुपमा अर्को महिनाको ७ गतेभित्र राष्ट्र बैंकमा पठाउनुपर्नेछ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले पनि क्लियरिङ हाउसबाट भएका कारोबारका विवरण मासिकरुपमा अर्को महिनाको ७ गतेभित्र अनिवार्यरुपमा राष्ट्र बैंकमा बुझाइसक्नुपर्नेछ ।