काठमाडौँ । सरकारले ९० वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पु-याउने व्यवस्था गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकलाई घर–घरमै वृद्धभत्ता पु-याउने व्यवस्था गर्न लागेको बताइन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा उनले छिटै यो व्यवस्था लागू गर्न सरकारले कर्मचारीलाई निर्देशन दिने जानकारी दिइन् । उनका अनुसार यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिनका लागि स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन । अहिले भत्ता वितरण स्थानीय तहले वडा कार्यालयबाट गर्दै आएका छन् । उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुनेगरी विशेष कानुन निर्माण गर्ने बताइन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नभई नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताइन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई हालसम्म एक सय ८९ देशले अनुमोदन गरेका मन्त्री रेग्मीले जानकारी दिइन् । महिला विभेद र भेदभाव अन्त्य गर्न राष्ट्रिय कार्यका लागि समेत महासन्धिले एजेन्डा तय गर्ने उनले बताइन् । पेरुकी ग्लेडिस यकोस्टा भारगास अध्यक्ष रहेको सिड कमिटीमा नेपालबाट वन्दना राणा सदस्य छिन् ।